काठमाडौं, १३ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुस १५ गतेदेखि जनकपुर र बुटवलमा वैदेशिक रोजगार कार्यालय स्थापना गर्ने भएको छ ।
मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै पुस १५ गतेदेखि जनकपुर र बुटवलमा वैदेशिक रोजगारीका लागि नयाँ कार्यालय स्थापना गर्न लागेको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उक्त जानकारी गराइएको हो ।
पुस १५ गतेदेखि सञ्चालन हुने कार्यालयले पुन श्रम स्वीकृति, वैदेशिक रोजगारी र अभिमूखीकरणका लागि स्वीकृति पाएका संस्थाहरुको नियमन, सरोकारवालबीच वैदेशिक रोजगारीको जानकारी र सूचना, वैदेशिक रोजगारीमा देखिएका समस्याहरुको सहजीकरण लगायतका काम गर्नेछन् ।
श्रम मन्त्रालयको जिम्मेवारी नेकपाका युवा नेता गोकर्ण विष्टले सम्हालेसँगै मन्त्रालय र मातहतका निकायमा व्यापक सुधारको थालनी गरिएको हो । ‘तत्कालका लागि वैदेशिक रोजगारी पनि हाम्रो प्रमूख बिकल्प हो, यसलाई व्यवस्थित तुल्याउन र नागरिकलाई घरदैलोमै सेवा पुर्याउन थप कार्यालय स्थापना गरिएको हो’ मन्त्रालय स्रोतले भन्यो ।
मन्त्रालय स्रोतका अनुसार नयाँ सञ्चालन हुने कार्यालय प्रादेशिक कार्यालयका रुपमा रहनेछन् । मन्त्रालय क्रमशः सबै प्रदेशमा कार्यालयहरु स्थापना गर्ने योजना अघि सारेको छ । ‘वैदेशिक रोजगारी सम्बन्धि स–साना समस्या समाधानका लागि पनि काठमाडौं नै धाउनुपर्ने बाध्यताको अन्त्य गर्दैछौं’ स्रोतले भन्यो, ‘यसले थोरै भए पनि नागरिकले सुविधा पाउनेछन् ।’
मन्त्रालयले पाँच वर्षभित्र वैदेशिक रोजगारीको बाध्यता अन्त्य गर्ने कार्ययोजनासहित काम अघि बढाएको छ । मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै मन्त्री विष्टले मलेसियासँग श्रम सम्झौता गरेका छन् भने नेपाल र जापानबीच श्रम सम्झौताको तयारी भइरहेको छ ।




लाेकपाटी न्यूज

