दाङ राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गर्न नेकपाको ह्विप

Pradesh_5
लोकपाटी न्यूज

बुटवल। प्रदेश ५ को सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक सकिएको छ। कडा सुरक्षा घेराबीच सोमबार बिहान नेकपा संसदीय दलको बैठक बसेको थियो। बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले राजधानीका बारेमा ब्रिफिङ गरेका थिए।

प्रदेश सभामा दर्ता भएको प्रदेशको राजधानी र नामसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न नेकपा संसदीय दलको बैठकले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको नेकपा प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए। उनले भने, ‘बुटवललाई आर्थिक र पर्यटकीय राजधानी बनाउने र राप्ती उपत्यकालाई प्रशासनिक राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गर्न मुख्यमन्त्रीले ह्विप जारी गर्नुभयो।’

यसअघि सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सदन स्थगन गर्न आग्रह गरेको थियो। अब केही बेरमा प्रदेशसभा बैठक बस्दै छ। बैठकस्थल बाहिर बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रदेशसभा बाहिर भने बुटवल राजधानी हुनुपर्ने भन्दै नेपाली कांग्रेसले नाराबाजी गरिरहेको छ।

तर, नेकपाले ह्विप जारी गरेपछि दाङ स्थायी मुकाम हुने पक्कापक्कीजस्तै छ। प्रदेशको स्थायी राजधानी तोक्न दुईतिहाइ मत आवश्यक पर्छ। ८७ सदस्यीय प्रदेशसभामा नेकपा एक्लैको दुईतिहाइ मत छ। प्रदेशसभामा नेकपाका ६१ सांसद छन्। कांग्रेसका १९, जनता समाजवादी पार्टीको ६ र राष्ट्रिय जनमोर्चाको १ सांसद छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्