काठमाडौं। प्रदेश ५ को नाम र राजधानीका विषयमा प्रदेश सभामा पेश भएको प्रस्तावमा सहजीकरण गर्न नेकपा संसदीय दलको बैठक जारी छ। बिहान ८ बजे बोलाइएको बैठक केही ढिला गरि सुरु भएको छ। नेकपा सांसद इन्द्रजीत थारुका अनुसार मुख्यमन्त्री शंकर पोखरेल ढिला भएकोले बैठक केही ढिला गरी सुरु भएको हो।
प्रदेशको नाम र राजधानीका विषयमा गत शुक्रबार पेश भएको प्रस्तावमा सहमति गराउन सजिलो होस् भनेर दलको बैठक राखिएको उनले बताए। यस बैठकबाट प्रदेशको नाम राजधानीको विषयमा मोटामाटी सहमति कायम गर्न खोजिएको थारुले बताए। गत शुक्रबार प्रदेशको नाम लुम्बिनी र राजधानी दाङ देउखुरीको भालुवाङमा राख्ने प्रस्ताव गरिएको थियो।
प्रदेश सभाको बैठक दिउँसो १२ बजेका लागि राखिएको छ। प्रदेश सभामा प्रदेशको स्थायी राजधानी र नामाकरण सम्बन्धि पेश भएको प्रस्तावमा आजबाट छलफल हुनेछ। छलफलमा उठेका बिषय माथि आन्तारिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले जवाफ दिनेछन्। सो प्रस्ताव भोलि पास गर्ने तयारीमा सत्तारूढ दल नेकपाको तयारी छ।
यता प्रदेशको स्थायी राजधानी को प्रस्तावविरुद्ध आन्दोलन सुरु गरेका नेपाली कांग्रेससहित यस क्षेत्रका संघसंस्थाले संसद भवन घेराउ गर्ने कार्यक्रम रहेको छ। अहिले प्रदेशसभा सचिवालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।



लोकपाटी न्यूज

