काठमाडौं, पुस १२ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा कम्युनिष्ट शासन नआएको बताएका छन् । संसदमा बोल्दै प्रचण्डले देशमा कम्युनिष्ट शासन आउँदा छिटो विकास हुने पनि बताए ।
संसदको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘यो लोकतान्त्रिक पद्दति भनेको विकास निर्माण छिटो–छिटो हुने प्रणाली होइन । कम्युनिष्ट पार्टीहरुको परम्परागत शासन हुन्थ्यो भने ड्याम ड्याम विकास हुन्थ्यो ।’ सरकारले छिटो–छिटो विकास र समृद्धिको सपना देखे पनि लोकतान्त्रिक पद्दतिमा सबैलाई मिलाएर लैजान खोज्दा छोटो समयमा हुने कामलाई पनि धेरै समय लाग्ने उनले बताए ।
विकास र समृद्धिको यात्रा तीव्र भएन कि भन्ने जनताको गुनासो रहेको बताउँदै अध्यक्ष प्रचण्डले केही कमजोरीका बावजुद देशभर विकास निर्माणको काम अघि बढाउन वर्तमान सरकारले सकारात्मक पहल गरिरहेको बताएका छन् । आफू देशभर घुम्दा विकास निर्माणको कामले बिस्तारै तिव्रता पाइरहेको उनले बताए ।
प्रचण्डले भने, ‘लाजिम्पाटबाट खुमलटार सर्दा एक वर्षसम्म धुलो र मैलोमा बस्नु पर्यो । तर, अहिले स्थिति फेरिएको छ । म बस्ने ठाउँमा मात्र भएको हो कि भन्दा सबैतिर सडक निर्माणलगायतका काम अघि बढेको छ । बर्खापछि काठमाडौँमा मास्क लगाउने जनता घटेको देख्छु ।’ प्रचण्डले प्रधानमन्त्री ओलीसँग काठमाडौँको धुलो मैलो हटाउन पहल गर्न आग्रह गरेको कुरा पनि सुनाए ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले संविधान कार्यान्वयनलाई साझा दायित्वको रुपमा लिदै सहयोगी भुमिका निर्वाह गर्न प्रमुख प्रतिपक्षी दललाई आग्रह गरे । पूर्वप्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयका लागि आवश्यक पर्ने कैयौ ऐन बनाउनुपर्ने गहन जिम्मेवारी यो सदनलाई रहेकाले प्रभावकारी र सहयोगी भूमिका खेल्ने कांग्रेसलाई आग्रह गरे ।
२००७ सालबाट सुरु भएको लोकतान्त्रिक र प्रजातान्त्रिक आन्दोलनको उत्कर्षको रुपमा संविधान निर्माण र त्यसपछिको निर्वाचन रहेको टिप्पणी गर्दे उनले इतिहासको निकै महत्वपूर्ण परिर्वतनलाई सामान्य रुपमा नलिन आग्रह गरे । सरकार लोकतान्त्रिक पद्धतिभन्दा बाहिर नगएको र नजाने प्रचण्डले बताए ।



लाेकपाटी न्यूज

