काठमाडौं, ११ पुस । नेपाल अतिरिक्त हुलाक कर्मचारी केन्द्रीय संघर्ष समितिले अतिरिक्त हुलाक कर्मचारीहरुलाई निजामतीकरण नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा केन्द्रीय संघर्ष समितिले पत्रकार सम्मेलन गरेर अतिरिक्ति हुलाक सेवामा रहेर काम गरिरहेका कर्मचारीहरुलाई उचित पारिश्रमिक तथा निजामतीकरण नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।
संघर्ष समितिका अध्यक्ष महेशलाल माझीले हुलाक नियमावली ऐन–२०३४ खारेजीको माग गरेका छन् । उनले भने, ‘हामीलाई नेपाल सरकारका कर्मचारी भनिन्छ । तर, सेवासुविधा दिँदा सौतेनी व्यवहार गरिन्छ, राज्यले यति विभेदकारी नजरले हेर्नु कत्तिको जायज हो ? उनले थपे, ‘पत्र वितरकको मासिक तलब ६ हजार दुई सय मात्रै छ, यस्तो महंगीमा उसले कसरी परिवार पाल्ने ?
उनले आफूहरुले २०६५ सालदेखि सरकारलाई आफ्ना समस्याहरु राख्दै आएको बताए । आफूहरुलाई सरकारले भुलभुलैयामा राखेर अन्याय गरेको भन्दै उनले दुखेसो पोखे ।
त्यस्तै कार्यक्रममा संघर्ष समितिका सदस्य हिक्मत घर्तीले निजामति कर्मचारी ऐनभित्र आफूहरुलाई अटाउनुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘हामीले जीवनका महत्वपूर्ण समय यस सेवामा समर्पित गरेका छौं । आज सरकारले हामीलाई सौतेनी व्यवहार गरिरहेको छ, यो अवस्थामा हाम्रो अभिभावक नभएकोजस्तो महसुस भएको छ ।’



लाेकपाटी न्यूज