काठमाडौं, ९ पुस । नेपाल श्रमिक आपूर्तिकर्ता संघले आज आफ्नो प्रथम स्थापना दिवसलाई “श्रमिक आपूर्तिकर्ता दिवस’’को रुपमा मनाएको छ । संघले अबदेखि हरेक वर्ष पुष ९ गतेलाई “श्रमिक आपूर्तिकर्ता दिवस’’को रुपमा मनाउने घोषणासमेत गरेको छ ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरि संघले प्रथम स्थापना दिवस मनाउनको लागि जानकारी गराएको हो । संघले श्रमिक आपूर्ति व्यवसायमा समर्पित व्यवसायीहरुको हकहित संरक्षण गर्ने मूल उद्देश्यलाई आत्मसात गरी ‘समृद्ध नेपाल तथा सुखी नेपाली’को राष्ट्रिय अभियानलाई साकार पार्न “नेपाल श्रमिक आपूर्तिकर्ता संघ’’ विधिवत् अस्तित्वमा आएको पनि विश्वास दिलाएको छ ।
कार्यक्रममा बोल्दै संघका संस्थापक अध्यक्ष रामेश्वर शाहले नेपालको श्रमबजारबाट विदेशिने नेपालीहरुलाई लक्षित गरेर आफूहरुले यो संस्थालाई सञ्चालनमा ल्याएको जिकिर गरे । उनले भने, ‘सरकारले व्यवस्था गरेको श्रम ऐनअनुसार नै हामीले सेवा प्रवाह गरिरहेका छौं ।’
संघको तर्फबाट अध्यक्ष शाहको नाममा जारी विज्ञप्तीमा भनिएको छ,‘श्रमिक आपूर्तिकर्तामार्फत रोजगारदाताले आफ्नो व्यवसायको ‘मुख्य कामबाहेक अन्य काममा मात्र लगाउन सकिने’ तथा एउटा ‘कम्पनीले दुईभन्दा बढी काम वा सेवाको लागि श्रमिक आपूर्ति गर्न नपाउने’ व्यवस्था नागरिकको निर्वाध रुपमा पेशा र व्यवसाय गर्न पाउने संविधानप्रदत मौलिक हक र कर्तव्य प्रतिकूल रहेको सम्बन्धमा सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन विचाराधीन रहेतापनि ऐन र नियमबमोजिम सरकारले आव्हान गरेको इजाजत प्रक्रियामा व्यवसायीहरु एक ढिक्का भएर सहभागी भएका छन् ।’
सरकार आफूहरुलाई अब श्रमिक आपूर्तिकर्ताको ईजाजत दिने तयारीमा रहेको सुनाउँदै उनले भने, ‘अहिले १ सय २४ जना व्यवसायीहरुले ईजाजतको लागि निवेदन दिनुभएको छ ।’ संघको स्थापनाको यो एक वर्षमा आफूहरुले १३ वटा जिल्लामा शाखाहरु सञ्चालनमा ल्याएको पनि अध्यक्ष शाहले जनाए ।
हालै लागु गरिएको न्युनतम पारिश्रमिक तथा सेवा सुविधा लागु गर्नेप्रति मुख्य रोजगारदाताको उदासिनताले यस क्षेत्रमा व्याप्त समस्यालाई अझ जटिल तुल्याएको उनको भनाई छ । महिला व्यवसायी पुष्पा कुमारी कोइरालाले समृद्ध नेपाल निर्माणको लागि व्यवसायी र रोजगारदाताहरुबीच सहकार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् ।



लाेकपाटी न्यूज

