काठमाडौं, ९ पुस । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तका हत्यारा पत्ता लगाउन प्रहरी प्रशासनले इमान्दार प्रयास गरिरहेको बताएका छन् ।
सोमबार दिउँसो प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गर्दै महानिरीक्षक खनालले आफूले हत्यारा पत्ता लगाउन सम्पूर्ण प्रयास गरिरहेको बताएका हुन् । उनले निर्मला हत्याकाण्डमा हतारमा नतिजा खोज्दा गलत अभ्यास भएको पनि स्वीकार गरेका छन् ।
पत्रकार सम्मेलनमा महानिरीक्षक खनालले घटनाको अनुसन्धान भइरहेको जानकारी दिँदै अनुसन्धानको सफलतालाई प्रतिशतमा तोक्न नसकिने बताए । खनालले भने, ‘अनुसन्धान भइरहेको छ, तर अनुसन्धानमा यति प्रतिशत सफलता हात पर्यो भनेर तोक्न सकिँदैन । अन्तिम अनुसन्धानपछि सबै तथ्य बाहिर आउँछ ।’
उनले घटनाको अनुसन्धानमा कमजोरी गर्ने जो कोहीलाई नछाड्ने उनले प्रतिवद्धता जनाए । प्रहरीले छानबिन समितिको प्रतिवेदन अध्ययन भइरहेको भन्दै आइजीपी खनालले भने, ‘प्रशासनिक कारबाही गर्न सिफारिस भएकाहरुलाई कारबाही गर्छौं । आवश्यक भए फौजदारी संहिताअनुसार पनि जान्छौं ।’
निर्मला पन्तको हत्यारा पत्ता लगाउन प्रहरीले आफूसँग भएको विज्ञताको उच्चतम सदुपयोग र ‘इमान्दार प्रयास’ गरिरहेको महानिरीक्षक खनालले बताए । ‘हाम्रो विज्ञताअनुसार अनुसन्धानमा कुनै कसर बाँकी राख्दैनौं’ खनालले भने ।



लाेकपाटी न्यूज

