एजेन्सी । इटालीमा महिनावारी अर्थात् रजस्वला भएका महिलालाई महिनामा ३ दिन बिदा दिइने भएको छ ।महिलामा हुने रजस्वला समस्यालाई ध्यानमा राखेर इटालीले नयाँ कानुन ल्याउने भएको हो ।
महिनावारी हुँदा रक्तश्राव उच्च भएर काममा जान नसक्ने महिलाहरुले अस्पतालको पुर्जी देखाएमात्र बिदा पाउनेछन् । सबै महिलामा भने बिदा लागू हुनेछैन ।
वासिङ्टन पोस्टका अनुसार इटालीमा ६१ प्रतिशत महिला तलबका लागि काम गर्दछन् । रजस्वला बिदाले इटालीका महिलामा राहत मिल्ने अनुमान गरिएको छ । यसअघि इटालीमा रजस्वला भएका महिलाले काममा बिदा लिँदा तलब काटिने गर्दथ्यो तर नयाँ कानूनले बिदाको तलब नकाट्ने भएको छ ।
महिलाको सुविधाका लागि यतिबेला त्यहाँका सांसदहरुले कानून ल्याउन लागि परेका छन् । उक्त कानूनले केही विवाद सृजना गरेको भएपनि यसलाई प्रगतिशील कानून मानिएको छ ।
रजस्वला हुँदा महिलामा ढाड दुख्ने, झाडापखाला र वाकवाकी हुने समस्या हुन्छ । यस्ता खाले गम्भीर समस्यामा बिदा दिइने भएको हो ।
इटालीको मारिया क्लेर म्यागेजिनले नयाँ कानूनले सामाजिक स्थिरता र विकासको प्रगतिमा सहयोग पुर्याउने बताएको छ ।
रजस्वला बिदा यसअघि एसियाली मूलुक जापान, ताइवान, दक्षिण कोरिया र इन्डोनेसियामा लागू भइसकेको छ ।



लाेकपाटी न्यूज

