मुगु, ७ पुस । मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–३ बाम्धारा भन्ने ठाउँमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
शनिबार बिहान ९ बजे सोरु गाउँपालिका तारापानी बजारबाट सदरमुकाम गमगढीतर्फ आउँदै गरेको भे ८ प ७०७८ नम्बरको मोटरसाइकल सडकभन्दा करीब ७०० मिटर तल खस्दा छायाँनाथ रारा नगरपालिका–७ टोप्ला घर भएका अन्दाजी ३२ वर्षीय चालक नवराज शाहीको मृत्यु भएको अस्थायी ट्राफिक कार्यालय गमगढीका प्रहरी नायब निरीक्षक कलकबहादुर शाहीले जानकारी दिए ।
घटनास्थल जिल्ला सदरमुकामबाट ४० मिनेट सडक यातायात दूरीमा रहेको छ । मोटरसाइकल धेरै माथिबाट खसेकाले घटनास्थलमै चालकको मृत्यु भएको प्रहरीले बताएको छ ।
ग्रामीण पहुँच कार्यक्रमको आर्थिक लगानीमा निर्माण भएको गमगढी तारापानी २१ किमी यो सडक गत साउनदेखि सञ्चालनमा आएको थियो । सञ्चालनमा आएको चार महीनामा यो सडकमा भएका ४ दुर्घटनामा ३ ले ज्यान गुमाएका छन । बाटो राम्रो भए पनि मुगु कर्णालीको तिरैतिर भिर बाटो भएर जाने बाटोको छेउमा सुरक्षित बारको आवश्यता महसुस गरिएको छ ।


लाेकपाटी न्यूज