‘सरकारले भनेको भरमा अहिलेकै अवस्थामा सडकमा गाडी चलाउन सकिँदैन’

saroj sitaula
लोकपाटी न्यूज

काठमाडौं, २६ असार। सरकारले शुक्रबारदेखि सार्वजनिक यातायात चल्न दिने निर्णय गरे पनि सडकमा सार्वजनिक यातायात चलेको छैन। गाडीको अवस्था ठीक नभएको र यातायात मजदूर को कता छन् अहिले ठेगान नभएको भन्दै यातायात व्यवसायीले गाडी नचलाउने निर्णय गरेको हो।

‘सरकारले भनेको भरमा अहिलेकै अवस्थामा सडकमा गाडी निकाल्न सकिने अवस्था छैन। ’ नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले भने।

यस विषयमा आज महासंघको बैठक बसेर निर्णय गर्ने महासचिव सिटौलाले बताए। महासचिव सिटौलाका अनुसार सरकारले यातायात व्यवसायी र मजदूरका समस्या समाधान नगरेसम्म तत्काल गाडी नचलाउने बारे छलफल भइरहेको छ।

सरकारले काठमाडौं उपत्यकाको हकमा काठमाडौं, भक्तपुर र ललितपुर तथा त्यसबाहेक अन्यत्र एक जिल्लाभित्र सिट क्षमताको ५० प्रतिशत यात्रुलाई तोकिएको भाडाभन्दा ५० प्रतिशतसम्म बढी भाडा लिएर सार्वजनिक सवारी सञ्चालन गर्न दिने निर्णय गरेको थियो।

सार्वजनिक यातायातका चालक र सहचालकले मास्क र पञ्जाको  प्रयोग अनिवार्य गर्नुपर्ने तथा गाडीमा प्रवेश गर्दा सेनिटाइजर प्रयोग गरेर यात्रुले मास्क प्रयोग गर्नु पर्ने  सर्तहरू राखिएका छन्। सरकारको उक्त निर्णय ठीकै भए पनि यातायात मजुरको व्यवस्थापन, गाडीको मर्मतसम्भार तथा आवश्यक स्वास्थ्य सुरक्षाका सामग्रीको जोहो गरेर मात्रै गाडी चलाउने ब्यवसायीले बताएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्