काठमाडौं, ६ पुस । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको वित्तीय प्रणालीमा स्थायित्व ल्याउन तथा अस्वाभाविक र अप्राकृतिक किसिमको कारोबारलाई व्यवस्थित गर्न भुक्तानी तथा फर्छ्यौटसम्बन्धी कानूनी व्यवस्था गर्न लागेको बताएका छन् ।
प्रतिनिधिसभा, अर्थ समितिको शुक्रबारको बैठकमा भुक्तानी तथा फर्छ्यौट सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा उनले भुक्तानीमा हुन सक्ने जालसाझी र बदमासीलाई रोक्न कानूनी व्यवस्था गर्न लागेको जानकारी दिए ।
नेपालमा आठ/दश वर्षदेखि विद्युतीय माध्यमबाट भुक्तानी हुने कुरा अघि बढिरहेको जानकारी दिँदै अर्थमन्त्री डा. खतिवडाले भने, ‘ बैंक होस् वा अरू दूरसञ्चार सेवा प्रदायक वा अरू कुनै एप्सको माध्यमबाट पनि यस्तो कारोबार अघि बढ्न थालेको छ, मोबाइल पैसा स्थानान्तर गर्ने विधि मात्र हो, आफैँ पैसा दिने निकाय होइन ।’
फर्छ्यौट गर्ने प्रणाली र निकाय व्यवस्थित भएन भने बदमासी हुने डर हुन्छ भन्दै उनले ‘भुक्तानीको काम कस्ले गर्ने हो, अहिलेसम्म औपचारिक भुक्तानीको काम बैंकिङ प्रणालीबाट गरिरहेका छौँ, फर्छ्यौट गर्ने कामको अन्तिम द्वार राष्ट्र बैँकले तोकेको निकाय हुनुपर्छ भनेर विधेयकमा प्रस्तुत गरिएको छ’ भने ।
जति पनि विद्यातीय कारोबार हुन्छ, अन्तिममा को मार्फत भुक्तानी गयो, कसले र कहाँ नेर त्यसको फर्छ्यौट गर्यो भन्ने तय हुनु पर्दछ भन्दै अर्थमन्त्री खतिवडाले फर्छ्यौट कसले गर्ने भन्ने इजाजत र स्थान केन्द्रीय बैठकको संयन्त्रमा आउनु अनिवार्य हुनुपर्ने बताए ।
भुक्तानी जसले दिए पनि अन्तिम फर्छ्यौट हुने निकाय सुनिश्चित गर्ने ढङ्गबाट ल्याइएको उक्त विधेयकमा सात सदस्यीय राष्ट्रिय भुक्तानी बोर्डको गठनको प्रस्ताव गरिएको छ ।



लाेकपाटी न्यूज