काठमाडौं, २५ असार। प्रतिनिधिसभाका सभामूख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोकको बाह्रबीसेमा बाढी पहिरोबाट भएको क्षतिको अवलोकन र पीडित परिवारलाई भेट्न बिहीबार दिउँसो पुगे। सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोशीमा गएको पहिरोमा परेकाहरुको अवस्था बुझ्न सभामूख सापकोटा पुगेका हुन्।
बुधबार शल्यक्रिया गरेको आँखाको पट्टी बाँधेरै उनी बाढी पहिरो प्रभावितस्थलमा पुगेका हुन्। बुधबार मात्रै आँखामा समस्या आएपछि शल्यक्रिया गराएका सापकोटा पटक-पटकको प्रयासपछि नेपाली सेनाको हेलिकोप्टरबाट त्यहाँ पुगेका हुन्।
सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका ५ जम्बुमा बुधबारराति बाढी पहिरो जाँदा दुईजनाको मृत्यु भइसकेको छ भने २० जना बेपत्ता छन्। पहिरोले ११ वटा घर बगाउँदा स्थानीय २५ वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको शव भेटिएको छ। हेलिकप्टरमार्फत गम्भीर घाइते भएका दुईजनाको उद्धार गरिएको छ।




लोकपाटी न्यूज

