काठमाडौं, १६ असार। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक सुरु भएको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा चौथो दिनको बैठक सुरु भएको हो। आज बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित भएका छन्।
यसअघि शुक्रबारको बैठकमा उनी उपस्थित भएका थिएनन् भने शनिबारको बैठकमा पनि केहीबेर बसेर निस्किएका थिए। स्थायी समितिको बैठकमा सरकार, पार्टी, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सीमा लगायत ७ बुँदे एजेण्डामा छलफल तय भएको छ। सीमाका विषयमा स्थायी समितिका सदस्यहरुले आफ्ना धारणा राखिसकेका छन्।
आजको बैठकमा सोही विषयमा बोल्न बाँकी रहेका वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, सचिवालयका सदस्य रामबहादुर थापा र ईश्वर पोखरेल तथा महासचिव विष्णु पौडेलले आफ्ना धारणा राख्ने बताइएको छ।बुधबारदेखि सुरु भएको बैठक बिहीबार स्थगित गरेर शुक्रबार र शनिबार बसेको थियो। त्यसपछि आइतबार र सोमबार दुई दिन स्थगित गरेर बैठक फेरि आज बसेको हो।



लोकपाटी न्यूज

