युरोपमा कोरोना संक्रमण दर फेरि बढेपछि डब्ल्यूएचओद्वारा चिन्ता व्यक्त

kovia-19 corona chinaa
सांकेतिक तस्वीर
लोकपाटी न्यूज

एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले युरोपमा कोरोना सङ्क्रमणको दर बढेको भन्दै चिन्ता व्यक्त गरेको छ। प्रतिबन्ध खुकुलो बनाइएका कारण पछिल्लो केही महिनामा पहिलो पटक युरोपमा संक्रमित हुनेको दर बढेको हो।

विश्व स्वास्थ्य सङ्गठनका क्षेत्रीय निर्देशक डाक्टर हन्स हेनरी क्लुगले युरोपमा ११ देशमा अचानक सङ्क्रमणको दर बढेको बताए। जसमा अर्मेनिया, स्विडेन, माल्डोवा र उत्तर म्यासिडोनिया धेरै प्रभावित छन्।
आफूले यसअघि नै युरोपमा कोरोना संक्रमणको दोस्रो प्रकोप हुन सक्नेबारे चेतावनी दिएको र त्यो अब वास्तविक जस्तो देखिएको उनले बताए। कोरोना प्रकोपलाई लिएर अझै सचेत नहुने हो भने ती देशको स्वास्थ्य क्षेत्र डामाडोल हुने भन्दै क्षेत्रीय निर्देशक क्लुगले सचेत गराएका छन्।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार युरोपेली क्षेत्रमा आउने ५४ देशमा अहिलेसम्म २६ लाखभन्दा धेरै सङ्क्रमित भइसकेका छन् भने एक लाख ९५ हजार जनाको ज्यान गइसकेको छ। विश्व स्वास्थ्य सङ्गठनको युरोपेली क्षेत्र निकै ठूलो छ, जसमा युरोपसँगै मध्य पूर्व र मध्य एसियाको पनि ५४ देश र सात क्षेत्र आउँछ। यस क्षेत्रमा प्रत्येक दिन औसतमा २० हजार संक्रमण र सात सय जनाको मृत्यु भइरहेको छ।