काठमाडौं, ८ असार। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चिनियाँ सञ्चारमाध्यमले सराहना गरेका छन्।गएको शुक्रबार भएको सर्वदलीय बैठकमा गरेको टिप्पणीको चिनियाँ सञ्चारमाध्यमले सराहना गरेका हुन्।
चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले मोदीले सर्वदलीय बैठकमा व्यक्त गरेको भनाई र त्यसमा विशेषज्ञको टिप्पणीसहितको खबर प्रकाशित गरेको छ। मोदीले सर्वदलीय बैठकमा भारतीय भूमिमा कोही पनि चिनियाँ सैनिक प्रवेश नगरेको र भारतको कुनै पनि सीमा पोष्ट कसैको कब्जामा नरहेको बताएका थिए।
उनको यो भनाईले गएको सोमबार राति गलवान उपत्यकाको भारत–चीन सीमा क्षेत्र वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भएको भिडन्तमा चीनको दोष नरहेको पुष्टि गर्ने भन्दै भारतमै मोदीको आलोचना भइरहेको छ। चिनियाँ सञ्चारमाध्यम र त्यहाँका विश्लेषकले मोदीको भनाईको स्वागत तथा सो वक्तव्य धेरै हदसम्म सही रहेको बताए पनि भारत भित्रै भने मोदी सबैतिरबाट प्रश्नहरुको घेरामा परेका छन्।
ग्लोबल टाइम्सको खबरमा शांघाइस्थित फुडान विश्वविद्यालयको सेन्टर फर साउथ एसियन स्टडिजका प्राध्यापक लिन मिनवाङ्गको राय उल्लेख छ। उनले भनेका छन्, ‘तनाव कम गर्ने क्रममा प्रधानमन्त्री मोदीको वक्तव्य अति महत्वपूर्ण साबित हुनेछ। उनले चीनमाथि आरोप लगाउनका लागि कट्टरपन्थीको आधार हटाउनु भएको छ ।’
प्राध्यापक लिनले भनेका छन्, ‘पाकिस्तान वा अरु कुनै देशसँगको तनावमा जस्तो भारतले चीनसँगको तनावमा राष्ट्रवादको आधारमा काम गर्न सक्दैन। चीनसँगको तनाव उसका लागि राष्ट्रवाद भन्दा फरक कुरा हो।’



लोकपाटी न्यूज

