काठमाडौं, ५ असार। नेपालको नयाँ नक्सासहितको निशान छाप समावेश भएको सूचना राजपत्रमा प्रकाशत गरिएको छ। लिम्पियाधुरा सम्मको भूभाग नेपालको निशान छापमा समावेश गरिएको सूचना राजपत्रमा आएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार संविधान संशोधन विधेयक प्रमाणीकरण गरेपछि यसलाई राजपत्रमा सूचना प्रकाशित गर्न पठाइएको थियो।
संघीय संसदको दुवै सदनले संविधान संशोधन विधेयकलाई सर्वसम्मतिले पारित गरेका थिए। योसँगै नेपालको नक्सामा छुटेको भूमि समेटिएको छ। संसदमा संशोधन विधेयक दर्ता भएको २८औं दिनमा अभूतपूर्व राष्ट्रिय एकतासहित बिहीबार संशोधन प्रक्रियाले पूर्णता पाएको हो।
विधेयक बिहीबार नै राष्ट्रियसभाले सर्वसम्मति रुपमा पारित गरेर पठाएपछि सभामुख अग्निप्रसाद सापकोटाले तत्कालै प्रमाणित गरी राष्ट्रपति कार्यालय पठाएका थिए। त्यसको केही घण्टामै राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक प्रमाणीकरण गरेकी थिइन्।



लोकपाटी न्यूज

