नारायण विश्वकर्मा/ स्याङ्जा, ४ असार। कोरोना संक्रमितको संख्या अत्यधिक बढ्न थालेपछि स्याङ्जामा सुविधा सम्पन्न आइसोलेसन थप्ने तयारी भएको छ। जिल्लाको पुतलीबजार नगरपालिका, वालिङ नगरपालिका, चापाकोट नगरपालिका, आँधीखोला गाउँपालिका र कालिगण्डकी गाउँपालिकामा एकसय शैया सुविधा सम्पन्न आइशोलेसन थप्ने तयारी भएको हो।
कोरोना उपचार केन्द्र व्यवस्थापन उपसमितिको भिरकोटमा बसेको बैठकले जिल्लामा कोरोना संक्रमितको संख्या अत्यधिक बढ्न थालेकाले थप एकसय शैया आइसोलेसन थप गर्ने र व्यवस्थापनका लागि प्रदेशसँग माग गर्ने निर्णय गरेको छ । जिल्ला अस्पताल स्याङ्जामा १० शैया, कालिका सामुदायिक अस्पताल हेलुमा ५० शैया र गल्याङ नगर अस्पतालल बल्पुकमा ५० शैयाको सुविधा सम्पन्न आइसोलेशन छ।
यी मध्ये गल्याङ नगरपालिकामा पछिल्लोपटक आइसोलेसन निर्माण गरिएको हो। गल्याङ नगरपालिकामा यसअघि कोरोना संक्रमण देखिएका नागरिकहरुलाई अन्य स्थानीय तहका आइसोलेशनमा पुर्याउनुपथ्र्यो। गल्याङ नगर अस्पतालल बल्पुकमा आइसोलेसन तयार भएपछि अन्यन्त्र पठाउनुपर्ने बाध्यता हटेको छ।
जिल्ला अस्पताल, कालिका सामुदायिक अस्पताल र गल्याङ नगर अस्पताललाई आइसोलेसन निर्माण गर्न गण्डकी प्रदेश सरकारले १०/१० लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो। जिल्लामा कोरोना संक्रमितको संख्या ७३ जना पुगेको छ भने सात जना निको भएर घर फर्किसकेका छन्। उनीहरु मध्ये चार जना महिला र अन्य पुरुष हुन्। एकजना संक्रमित पुरुषको मृत्यु भएको छ।



लोकपाटी न्यूज

