पेट्रोलियम पदार्थको मूल्य घट्यो (विज्ञप्ति)

NOC
लाेकपाटी न्यूज

काठमाडौं, ४ पुस । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल तथा मट्टितेलमा समान २/२ रुपैयाँ मूल्य मूल्य घटाएको हो । नयाँ मूल्य मंगलबार रातिबाट लागू हुने निगमले जनाएको छ ।

मूल्य घटेपछि बुधबार बिहानबाट उपभोक्ताले पेट्रोल प्रतिलिटर १ सय १० रुपैयाँ तथा डिजेल र मट्टितेल समान ९७ रुपैयाँमा किन्न सक्नेछन् ।

भारतीय आयल कर्पोरेसन (आइओसी)ले आइतबार पठाएको नयाँ मूल्य सूची घटेर आएपछि निगमले पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो । आइओसीले निगमलाई प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य सूची पठाउने गरेको छ ।

उपभोक्तालाई प्रतिलिटर २ रुपैयाँ मात्र मूल्य घटाएको निगमले आगामी १५ दिनका लागि ८८ करोड २२ लाख रुपैयाँ नाफा सुनिश्चित गरेको छ । निगम प्रवक्ता वीरेन्द्र गोइतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निगमलाई आगामी १५ दिनमा करिब ८८ करोड २२ लाख रुपैयाँ नाफा हुने देखिन्छ ।’

निगम प्रवक्ता गोइतले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको दररेटमा आएको गिरावटसँगै मूल्य घटाइएको जानकारी दिएका छन् । ‘अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा पुनः केही कमी आएको र अमेरिकी डलरसँग नेपाली मुद्रा पनि केही बलियो भएकाले फर्मुलाबमोजिम नै पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको हो,’ उनले भने ।

यस्तो छ निगमले जारी गरेको विज्ञप्ति :

release

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्