काठमाडौं, २७ जेठः तिलोत्तमा नगरपालिका–१० बेंवरे नजिकै शान्तिनगरमा ८ वर्षीया बालिका बलात्कृत भएको खुलेको छ। गत वैशाख २८ गते उनलाई छिमेकी १४ वर्षीय किशोरले घरमै लगेर बलात्कार गरेको आरोप छ। विपन्न परिवारकी ती बालिकाका बुवाले वास्ता गर्दैनन्। आमा डिप्रेसनको रोगी छिन्। चौरमा खेल्दै गरेकी मुसहर थरकी बालिकालाई किशोरले आफ्नो घरमा लगेर बलात्कार गरेको खुलेको हो।
बलात्कारपछि किशोरले बालिकाको मुखमा टेप लगाइदिएर खुट्टा बाँधेर कोदालोको बिँड यौनांगमा राखेर थप पीडा दिएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। किशोरले कसैलाई भने मारिदिने त्रास देखाएपछि बालिकाले अम्बाको रुखबाट लडेर घाइते भएको बताएकी थिइन्।स्थानीय सहनशील टोल विकास संस्थाका अध्यक्ष गोपालप्रसाद घिमिरेका अनुसार बालिका विपन्न परिवारकी भएकै कारण स्थानीयले वैशाख २९ गते ३९ हजार चन्दा संकलन गरेर उपचारका लागि बुटवल प्रादेशिक अस्पतालमा पठाएका थिए । त्यहाँ उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेजमा एक सातासम्म राखेर उपचार गरिएको थियो ।
उपचारकै क्रममा डाक्टरले बालिकाको यौनांगको घाउ लडेर लागेको नभई कसैले त्यस्तो गराएको आशंका गरेपछि बल्ल स्थानीयले सोधीखोजी सुरु गरेको घिमिरेले बताए। ‘केटीलाई फकाएपछि बल्ल घटना खुलेको हो,’ उनले भने, ‘त्यसपछि कारबाहीका लागि प्रक्रियामा लगेका थियौं।’स्थानीयको पहलपछि बालिकाकी दिदीले जेठ १९ गते इलाका प्रहरी कार्यालयमा जाहेरी दिएकी छन्। बलात्कार आरोपित किशोर परियार थरका हुन्। किशोरका बाबु जेलमा छन्।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठौरले घटनाको जाहेरी आएपछि थप अनुसन्धान अघि बढाएको बताए। ‘पीडक पक्ष पनि उमेर कम भएका कारण अदालतबाट अभिभावकै जिम्मा राखेर अनुसन्धान गर्ने गरी आदेश भएको छ,’ उनले भने, ‘घटना हेर्दा जघन्य अपराधजस्तै देखिएकाले अनुसन्धान भइरहेको छ।’घटनामा मानवअधिकारकर्मीले स्थलगत अध्ययन र अनुसन्धान सुरु गरेका छन्। रुपन्देहीका कदम नेपाल, एड्भोकेसी फोरम र कपिलवस्तुको सिद्धार्थ सामुदायिक विकास केन्द्रले बालिकाको न्याय, राहत र उपचारका लागि पहल सुरु गरेको कदम नेपालकी अध्यक्ष इन्दिरा आचार्यले बताइन्।
‘पहिले बालिकाको उपचार हो, त्यसमा पहल गर्दै छौं,’ उनले भनिन्, ‘अति विपन्न र घरमा खाने खर्चसमेत नभएकी बालिकालाई थप उपचार जरुरी छ।’यौनांग र मलद्वार क्षतविक्षत भएकाले अहिले डाक्टरले कोखाबाट पाइप लगाएर दिसा, पिसाब बाहिर निकाल्ने गराइदिएका छन्। त्यसैले थप उपचार जरुरी रहेको र बालिकालाई मानसिक परामर्श दिनु जरुरी रहेको उनले बताइन्। उनका अनुसार बालिकाको शारीरिक अवस्था पनि कमजोर छ।
केटा र उसको परिवार देख्दा अझै तर्सिने गर्छिन्। बालिकाका चार दिदीभाइमध्ये एक दिदीको विवाह भएको र अन्य तीन जना कोही पनि विद्यालय जाने नगरेको आचार्यले बताइन्।वडाध्यक्ष ब्यासमुन थारूले घटनाबारे खुलेपछि कारबाहीका लागि छलफल चलेको बताए। स्थानीय महिला समूहसँगको छलफलमा केटाले आफूले ठूलो गल्ती गरेको भन्दै माफी पनि मागेको भन्ने सुनेको बताउँदै उनले थप बुझ्ने जानकारी दिए। कान्तिपुर दैनिकमा खबर छ।



लोकपाटी न्यूज
