काठमाडौँ, २३ जेठःतेस्रो मुलुकबाट नागरिक स्वदेश फर्काउने अभियान अन्तर्गत शुक्रबार साँझ युएईबाट थप १६८ जना नेपाली स्वदेश फर्किएका छन्। साँझ ५ः४० बजे एयर अरेबियाको विमानबाट उनीहरु स्वदेश फर्किएको त्रिभुवन विमानस्थलका एक कर्मचारीले बताए। जसमा एक जना नाबालक रहेका छन्।
शुक्रवार बिहान म्यानमारबाट २६ नेपाली फर्किएका थिए। सम्बन्धित देशका दूतावाससँगको समन्वयमा सरकारले नागरिकलाई स्वदेश फर्काइरहेको छ।स्वदेश फर्कने पहिलो चरणको सूचीमा अत्यावश्यक तथा रोजगारी गुमेका, भिसाको अवधि सकिएका नागरिक छन्। प्राथमिकताका आधारमा अन्य मुलुकबाट पनि नागरिक फिर्ता ल्याउने तयारी सरकारको छ।
नेपाली सेनाले प्रदेशगत रुपमा वर्गीकरण गरेर होल्डिङ सेन्टरमा राख्नेछ। युएईबाट फर्केका ४६ जना प्रदेश १ का छन्।
यसैगरी २३ जना प्रदेश २ का छन्। ३७ जनालाई वाग्मती प्रदेशले तोकेको होल्डिङ सेन्टरमा राखिने छ। गण्डकी प्रदेशका २३, प्रदेश ५ का २३, कर्णालीका ४ र सुदुरपश्चिमका १२ जना प्रदेशले तोकेको होल्डिङ सेन्टरमा रहने छन्। होल्डिङ सेन्टरबाट सम्बन्धित प्रदेश र स्थानीय तहको समन्वयमा क्वारेन्टाइनमा पुर्याइनेछ।



लोकपाटी न्यूज