विराटनगर, २३ जेठ । विराटनगरका व्यवसायीले असार ७ गतेसम्म कर बुझाउन नसकिने भन्दै विरोधमा उत्रिएका छन्। आन्तरिक राजस्व विभागले असार ७ गते सम्म कर बुझाउन आग्रह गरेपछि अहिले कर बुझाउन नसक्ने भन्दै विराटनगरका व्यवसायीले विरोध प्रदर्शन गरेका हुन्।
लगातारको लकडाउनका कारण व्यापार व्यवसाय नभएको र विभागले म्याद थप गरेपनि तत्काल कर तिर्न सक्ने स्थिति नरहेको भन्दै उनीहरुले विराटनगर स्थित आन्तरिक राजस्व कार्यालय अगाडि धर्ना दिएका छन्। धर्ना अघि उनीहरुले विभिन्न नाराहरु लेखिएका प्ले कार्ड बोकेर नगरको विभिन्न भागको परिक्रमा गरेका थिए।
‘कोरोना लागेर मर्नु अघि भोको मरिन्छ होला, भोको पेटले बैक व्याज कसरी तिर्ने, घर भाडा र बैंक ब्याज मिनाहा गर, व्यापार नगरी कर कसरी तिर्नु, व्यापार र व्यापारीलाई संरक्षण गर’ जस्ता नारा लेखिएका प्ले कार्ड सहित उनीहरुले मौन जुलुस निकालेका थिए।
धर्ना कार्यक्रममा भोको भएका कारण मरेको जस्तो गरेर सुतेर सांकेतिक विरोध समेत गरेका थिए। उनीहरुले स्थानीय सरकारले एक पटक राहत दिएको तर निम्न वर्गीय परिवारलाई बाँच्न गाह्रो भएको भन्दै र आवश्यक राहत उपलब्ध गराउनु पर्ने मागसहित विरोध गरेका छन्।



लोकपाटी न्यूज
