आज युएईबाट २१० र म्यानमारबाट २६ नेपाली आउँदै

Nepal Airlines
लोकपाटी न्यूज

काठमाडौं, २३ जेठ: सरकारले कोरोना संक्रमणका कारण विदेशमा अलपत्र परेका नेपाली श्रमिकलाई २८ जेठदेखि स्वदेश ल्याउने तयारी गरेको छ। नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सका जहाजबाट उनीहरूलाई फर्काइनेछ। दुवै एयरलाइन्सले दैनिक १४ उडानबाट दुई हजार ६ सय ५६ नेपालीलाई स्वदेश ल्याउन सकिने भाडासहितको विस्तृत प्रस्ताव बिहीबार पर्यटन मन्त्रालयमा पेस गरेका छन्। युएईमा रहेका दुई सय १० श्रमिक र म्यानमारमा अलपत्र परेका २६ नेपाली भने शुक्रबार नै नेपाल आउँदै छन्। दुवै देशका सरकारले उनीहरूलाई आफ्नै खर्चमा स्वदेश पठाउन लागेको हो। नेपाली श्रमिकलाई घर फर्काउन युएईले केही दिनभित्रै थप आठ उडान गर्ने तयारी गरेको छ । त्यहाँ रहेका करिब १८ हजार नेपाली श्रमिकले स्वदेश फर्किन दूतावासमा आवेदन दिएका छन्।

निगम र हिमालय एयरलाइन्सले गरेको प्रस्तावमा भाडादर भने नियमितभन्दा दोब्बर छ। निगमसँग दुई सय ७४ सिट क्षमताका दुई वाइडबडी र एक सय ५६ सिट क्षमताका दुई न्यारोबडी जहाज छन्। वाइडबडीको प्रतिघन्टा १८ हजार एक सय र न्यारोबडीको प्रतिघन्टा आठ हजार चार सय ७० अमेरिकी डलरका दरले भाडा प्रस्ताव गरिएको छ। आठ उडान गरेर दैनिक एक हजार सात सय २० जनालाई ल्याउन सकिने निगमको प्रस्ताव छ।

त्यस्तै, हिमालय एयरलाइन्ससँग पनि एक सय ५६ सिट क्षमताका तीन एयरबस ३२० जहाज छन्। उसले प्रतिघन्टा आठ हजार डलर भाडा प्रस्ताव गरेको छ। ६ उडानमार्फत दैनिक नौ सय ३६ नेपालीको उद्धार गर्न सकिने उसको प्रस्ताव छ।सामान्य उडानमा काठमाडौं-मलेसिया ३० हजारदेखि ३५ हजार रुपैयाँसम्म भाडा लाग्छ। न्यून भाडामा उडान गर्ने एयर एसिया, मालिन्दोजस्ता एयरलाइन्सले त २८ हजारमा समेत उडान गर्ने गरेका थिए। तर, निगमले वाइडबडी जहाजका लागि प्रतिघन्टा १८ हजार एक सय डलर भाडा प्रस्ताव गरेको छ। मलेसियाको उडान उडान समय नौ घन्टाको हुन्छ । यस हिसाबले प्रतिउडान एक लाख ६२ हजार नौ सय डलर पर्छ। जहाजमा दुई सय ७४ यात्रु आउने हिसाब गर्दा प्रतियात्रु पाँच सय ९५ डलर अर्थात् नेपाली रुपैयाँ ७१ हजार तीन सय ४४ पर्न आउँछ।

‘दुवै कम्पनीले प्रस्ताव दिएका छन्, भाडालगायतको विषयमा परराष्ट्र मन्त्रालयसहित उच्चस्तरीय समितिले अनुमोदन गरेपछि अन्तिम निर्णय हुन्छ,’ पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले भने। भाडा सरकारले तिर्ने कि फर्किने नेपालीलाई तिर्न लगाउने भन्ने विषयमा पनि अझै कुनै निर्णय भएको छैन। नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरेले इन्धन र अन्य खपतको हिसाब गरेर भाडा प्रस्ताव गरिएको बताए। ‘हामीले इन्धन र अन्य खपतको हिसाब गरेर भाडा तोक्ने हो, यताबाट जाँदा रित्तै भएपछि भाडा स्वतः महँगो हुन्छ,’ उनले भने। जहाजका ८५ प्रतिशत सिट भरिने अनुमान गरेर भाडादर प्रस्ताव गरिएको घिमिरेले बताए। नयाँ पत्रिकामा खबर छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्