‘निरर्थक आखेट’ (कविता)

durga kharel pic
लोकपाटी न्यूज

दुर्गा खरेल

अन्धकारमा एउटा नयाँ रेखा खिचिरहेछु
आफ्नै भविष्यको मरुभूमिमा
जबरजस्ती पानीका फोहोरा फ्याँकिरहेछु
के मरुभूमि कुनै दिन हराभारा बन्ला ?

 

मेरो आत्माको उद्यानमा
एउटा अज्ञात त्रासले चरन बनाएको छ
ऊ चिरिप्प चिरिप्प चरिरहेछ
अनी मेरो अस्तित्व छिमेकीहरुको
नफरतको छेवैबाट गुज्रीरहेछ ।
मेरो दिमागको एकान्त कुनामा
आत्मघाती विश्वासहरुले
बारम्बार झम्टिरहेछन् ।

 

अनि म आफूले आफैंलाई
निहत्था सावित गर्नका लागि
बुद्धका शान्ति र अहिंसाका उपदेशहरुलाई
देश प्रेमको भट्टी बालेर
दिन दहाडै जलाइ रहेछु ।

 

गिद्धे दृष्टिहरुका खूनी कर्कशबाट
अनि बरफजस्तै चिसा आत्माहरुबाट
लुक्तै लुक्तै सुरक्षित स्थान खोज्दै हिँड्दा
मुर्दालाई सबभन्दा सुरक्षित सम्झी
आनन्दसित रात गुजार्न पुगेँछु ।

 

जब सभ्य मानिनेहरुका भीडमा पुगेँ
प्रत्येक विश्वासघाती हातहरुले
विस्फोटक सुरुङ्ग बनाउँदै गरेको देखेँ
ब्वाँसाहरुलाई सहोदर भाइ भन्दै
गोहीका आँशु अलापेको देखेँ ।

 

यहाँ त पुरै नैतिकताका साथ
परेवाहरु भुटुवा तरुवा बनाएर
विदेशी युद्ध प्रशिक्षकहरुले
हाम्रो बिग्रेको स्वतन्त्रताको मेसिन
मर्मत गरिरहेछन् ।

 

अनि त म कविता बने, छन्द बने
तर चारैतिरबाट बन्द बने
ब्वाँसाहरुका भीडमा
न मल्हमपट्टी बन्न सकेँ
न बैशाखी बनी उँभिन सकेँ

 

केवल महशुस गरिरहेछु
मैले बालक हुँदा देखेका
अधबैशेहरुले आँखा चिम्लीसके
युवकहरु वृद्ध भैसके
आफैं अधबैंशे भैसकेँ

 

भविष्यको खोजीमा धेरै हराए
फ्याँकिए अनि जाकिए
म पनि अलमलमै एउटा
निरर्थक आखेटमा जुटिरहेछु ।

 

तर, पुस्तौं पुस्तादेखि
ब्वाँसाहरुको स्थान सुरक्षित छ
सिकार गर्न सिपालु ब्वाँसाहरु
सुम्सुम्याउँदा सुम्सुम्याउँदै एकैचोटी
मलद्धारबाट मुटु कलेजो झिक्तछन् ।

 

हो, मेरो आत्माको उद्यानभित्र
डरलाग्दो त्रास बनेर
यसैले गाँजीरहेछ
अनि म केवल आत्मशान्तिका लागि
अन्धकारमा एउटा नयाँ रेखा खिचिरहेछु ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्