काठमाडौं, ५ जेठ। पूर्व सूचना तथा सञ्चारमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले कोरोनाबाट आमा गुमाएका बच्चालाई ५० हजार सहयोग गर्ने भएका छन् । पूर्वमन्त्री बस्नेतले बच्चालाई आवश्यक पर्ने पौष्टिक आहारका लागि ५० हजार रकम सहयोग गर्ने भएका हुन्।
आमा कोरोनाबाट मृत्यु भएको र पारिवारको आर्थिक अवस्था कमजोर रहेकाले बच्चाको आवश्यक हेरचार र खानपानकालागि केही रकम सहयोग गरेको पूर्वमन्त्री बस्नेतले बताएका छन्। बच्चाको बुबा धुलिखेल अस्पतालबाट फर्कने बितिकै सो रकम हस्तान्तरण गरिने उनले जानकारी दिए। उनले बच्चाको १ देखि १२ कक्षासम्म अध्ययनकालागि निशुल्क व्यवस्था गर्ने भएका छन्।
१२ पछि थप उच्च शिक्षा अध्ययनका लागि पनि आफूले पहल गर्ने र बच्चाको लागि रोजगारीको व्यवस्था गर्ने उनले बताए।बाह्रबिसे नगरपालिका-९ राम्चेकी एक महिलाको कोरोना भाइरस संक्रमण कारण जेठ १ गते मृत्यु भएको थियो । उनी ९ दिनकी सुत्केरी थिइन्।गत वैशाख २४ गते शिक्षण अस्पताल महाराजगञ्जमा उनले छोरालाई जन्म दिएकी थिइन्। उनको छोरा धुलिखेल अस्पतालमा छन्।उनको स्वास्थ्य अवस्था राम्रो रहेका चिकित्सकहरुले बताएका छन् । ती महिला पूर्वमन्त्री बस्नेतको छिमेकी गाउँकी थिइन्।



लोकपाटी न्यूज