लकडाउनको मोडालिटी परिवर्तन गर्ने उच्चस्तरीय समन्वय समितिको निर्णय

pic 1
लोकपाटी न्यूज

काठमाडौं, २ जेठ। कोभिड- १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लक डाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको छ। समितिको आज बसेको बैठकले जेठ पाँच गतेपछि लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको हो। स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको छलफलपछि समितिले जोखिम क्षेत्र छुट्याएर लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले बताए।

जारी लकडाउनको समिक्षा गर्दै समितिले उच्च जोखिममा रहेको क्षेत्र, मध्यम जोखिममा रहेका क्षेत्र र न्यून जोखिममा रहेका क्षेत्रको पहिचान गरी मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको उनले बताए। समितिले अध्ययन वा अन्य कामको सिलसिलामा जापान र हङकङमा बस्दै आएका तर लकडाउनका कारण नेपालमै रहेका नागरिकहरुलाई चार्टर्ड फ्लाइटमार्फत पठाउने निर्णय पनि गरेको छ।

सचिव विडारीले लकडाउनका कारण जापानजानबाट रोकिएका ६ सय र हङकङको आइडी प्राप्त नागरिकलाई स्वास्थ्य परीक्षण, अध्यागमन प्रक्रिया पूरा गरी पठाउने निर्णय भएको बताए। समितिले शुक्रबार स्वास्थ्य क्षेत्रका विभिन्न विज्ञहरुसँग छलफल पनि गरेको छ। अहिलेको अवस्था र लकडाउनको मोडालिटी परिवर्तन गरी कसरी जनजीवन सहज बनाउन सकिन्छ भन्ने विषयमा विज्ञहरुसँग छलफल भएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्