हिजो
विद्यार्थी हकहित र कल्याण
का लागि लड्ने
विद्यार्थी आन्दोलन
आज सत्ताको
सितल छहारीमा
भ्रष्टाचारीको सुकुल ओछ्याएर
गुलामीको सिरानीमा
टाउको अड्याएर
मस्त सुतेको छ !
हिजो सिमा मिचिदा
महँगीले जनता थिचिदा
शोषण र अत्याचारका
विरुद्ध आवाज
बुलन्द पार्ने
विद्यार्थीको स्वर
आज
एजेन्ट र ठेकदारहरुले
गुमनाम पारिदिएका छन् !
हिजो
जनजिविका र मुल्यमान्यताका
मुद्दामा
आगो ओकल्ने विद्यार्थी आन्दोलन
आज
बालुवाटारको इसारामा
विज्ञप्ति निकाल्छन्
मन्त्रीको पिए बन्ने सपना देख्छन् !
हिजो
क्याम्पसका खुल्ला चौरमा
विचार विमर्शको सभा गरेर
सडकमा जुलुस निकाल्ने
विद्यार्थी आन्दोलन
आज
रेष्टुरेण्ट र डान्सबारका
कुनाहरुमा
दुई चार रात बिताएपछि
दुई चार बोत्तल सिद्याएपछि
हाउभाउ र भडक राख्ने
साँढा जस्तै
गल्लीहरुमा
निस्किन्छन् !
हिजो दलाल पूँजीवादको
विरोध गर्दै
निःशुल्क स्वास्थ्य एवं शिक्षाको
वकालत गर्ने
विद्यार्थी नेताहरु
आज
पार्टीका बफादारहरुले
खोलेको अस्पतालमा
आफ्नी श्रीमतीलाई
जागिर लगाउन
भनसुन गर्छन्१
अनि जेलनेल भोगेर
लुट्न सिकेको
विज्ञ आसेपासेले खोलेको स्कुलमा
आफ्नो बच्चा फ्रि मा भर्ना
गराउन तछाडमछाड गर्छन् !
हिजो
क्याम्पसको कम्पाउण्ड भित्रै
भेटिने विद्यार्थी नेता
आज
प्रमुखले चन्दा नदिएको बहानामा
क्याम्पस ताला लाउन
र विद्यार्थी भड्काउन बाहेक
कम्पाउण्ड भित्र भेटिदैनन्,
तर
आफै जग्गाको कारोबार
गर्छन् आजका
विद्यार्थी नेताहरु
भूमाफियाको संरक्षणमा
दलाली बनेर !
हिजो
आफ्नै हाराहारीका
सहयात्रीहरु
स्ववियुमा उठ्थे
जित्थे
क्याम्पसको विकासमा
केही त ध्यान दिन्थे
आजका विद्यार्थी नेताहरु
छोराको बाउ नबनुन्जेल सम्म
क्याम्पसमा उठ्छन्
क्याम्पसमा नातेदार घुसाउछन्
केन्द्रमा उपकुलपति रजिस्ट्रार
माथि हैकम जमाउछन्१
अलि कति अंकल
जस्तो देखिएपछि
र उमेरले पैतालिस कटेपछि
जिल्ला नेताको पुच्छर समात्छन्
अनि टिका थाप्छन्
अनि केन्द्रिय अध्यक्ष पड्काउछन् !
हिजोको
विद्यार्थी आन्दोलनले
विद्यार्थीलाई गाडीमा
घरभाडामा, रासनपानीमा
छुटको मुद्दा चलाउथे
आजको
विद्यार्थी आन्दोलनले
तँ फलानो
तँ डिस्कानो
भन्दै गुटको मद्दा चलाउछन् !
हिजोको
विद्यार्थी आन्दोलनको
तागत र महत्व
संघर्षमा हुन्थ्यो
एकतामा हुन्थ्यो,
आज
विद्यार्थी आन्दोलनको
नक्सा
मन्त्री क्वाटारमा कोरिन्छ
माइतीघरमा देखाइन्छ
अनि
पुलिस क्लबमा लगेर थन्क्याइन्छ !
हो उ
आजको
विद्यार्थी नेता हो
छक्का पञ्जा गर्छ
मपाइँको मोहनी लाउछ
नखरा देखाउछ
प्रतिपक्षमा भए सडक तताउछ
सत्तामा भए घर भित्रै हराउछ
गुण्डाहरु पाल्छ
रातदिन
पार्टीको घोषणापत्र घोलेर
प्याला पिलाउछ
पार्टी कार्यालयमा
डेरा जमाउछ
त्यसैले त उस्ले
सरकारी कामको ठेक्का पाउछ
आधा काम गर्छ
पैसा पचाउछ
सम्पर्क मञ्च चलाउछ
वार्षिक क्यालेण्डर छपाउछ
विकास गर्ने पैसोले स्टेज सजाउछ
अनि सांसदलाई कार्यक्रममा बोलाउछ
फुलमाला अबिर लगाउछ !
त्यसैले त
आजको विद्यार्थी आन्दोलन र नेता
देख्दा
हिजोको आन्दोलन सरमाउछ
साच्चै जनताका आखा रसाउछ !



लोकपाटी न्यूज

