‘कोरोनालाई जितौं, मजदूरलाई सम्मान गरौं’

Sharmila Timilsina Nepal
लोकपाटी न्यूज

शर्मिला तिमिल्सिना 

२०७६ साल भाद्र १६ गते हरितालिका तिजका दिन बिहान सात बजे धादिङ गजुरी गाउँपालिका वडा ५ कि ३५ वर्षीया सानी परियार पोखरे खोला नजिकै बगिरहेको त्रिशुली नदिको बिचमा आधा शरीर डुबाएर नित्थ्रुक्क भिज्दै थुन्सेमा बालुवा थात्दै गर्दा भेटिइन्न र अर्का मजदूर सावेलले बालुवा त्रिशुलीबाट निकाल्दै थुन्सेमा हाल्दिदै थिए।

उनीहरु नजिक गएर सोधे,गजुरी स्कूलमा कलाकारहरु आउछन रे तपाई भने उता रमाईलो हेर्न जान छोडेर एकाबिहानै नदि भित्रै छिरेर काम गर्दै हुनुहुन्छ नि ?? यी वाक्य खस्न नपाउँदै उहाँको जवाफ थियो, खानाको जोहो र बालबच्चा पढाउन त पर्याे नि ! गरीबले के रमाइलो गर्न पाउँछ र ?? उहाँको जवाफ यहि थियो, तीजको दिन यो दृष्यले निशब्द बन्दै गजुरी प्रस्थान गरें।

दिउँसो फेरी आदर्श माविमा हुने कार्यक्रमको निमन्त्रणा अस्वीकार गर्न सकिएन। अघिल्लो दिन नै निमन्त्रणाको खबर गाउँपालिकाबाट बसन्त दवाडीले दिनु भएको थियो। फेरि सीता श्रेष्ठ दिदीको शब्द त नाघ्नै सक्दिन उहाँलाई म अभिभावकको रुपमा लिन्छु। सोहि दिन आदर्शमा भएको तीजको कार्यक्रममा ब्यासमै बसिरहँदा उपाध्यक्ष सीता ढुङ्गानाको बोल्ने पालोमा उहाँको शब्द थियो हामी आज विकासका कुरा गर्दैनौं मात्र रमाईलो गर्छाै,उहाँको यो शब्दले मेरो मन फेरि सानी परियारले भनेको शब्द गरीबलाई के रमाईलो भन्ने शब्द तिरैै पुग्यो।

अब फेरी अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतको भनाइ थियो गजुरी गाउँपालिकाको कुनै पनि जनता भोकै बस्नु पर्दैन यो शब्दमा फेरी सानी परियारले भनेको शब्द खानको लागि तीजको दिन पनि काम गर्न आएकि छु। धादिङको जनता भोकै बस्नु पर्दैन भनेर पटक-पटक संघीय सांसद भूमि त्रिपाठीले पनि भन्दै आउनु भएको शब्द हो। भोको छन या छैन यी एउटा दृश्य नै काफी छ। यो तितो यथार्थ लाखौ खर्च गरी कलाकार लगेर मनोरञ्जन दिनु र रोजीरोटीको लागि ज्यान धरापमा राखी त्रिशुलीको बिचमा गएर बालुवा निकालेर पेट पाल्नु पर्ने बाध्यता स्पष्ट छदै छ। मजदुरहरु मुखमा भोटे ताल्चा लाएर काम गर्न विवस छन्।

अछाम स्थायी घर भएकी काठमाडौं भिमसेनगोला डेरा गरी बस्ने ४३ वर्षीया सोबिना खड्काको पिडा उत्तिकै छ, आफ्नै मृगौलाको अप्रेशन गर्दा लागेको ऋण तिर्न श्रीमानलाई बिदेश पठाएँ ,२ छोरा १ छोरी पढ्दैछन। आफू मुलपानी साहुको बारीमा गइ साग ओखलेर ल्याई मुठा बनाई डुलाउदै सिनामगल, तिलगंगा,गौशाला लगाएत ठाउँमा डुलाउने र छोरी निरुता खड्कालाई भिमसेनगोला चोकमा साग बेच्न राखिदिएर त्यसैबाट जिविका चलाउदै आएको अहिले लकडाउनले त्यहि कमाउने आधार पनि गुम्यो। भात खान पनि समस्या परेको गुनासो गर्छिन्। त्यसै गरी चैत २८ गते गोल्डेन गेट कलेजमा राहात बाड्दा पाइन्छ कि भन्ने आसमा लाइन बस्दै गर्दा भेटिए काभ्रे स्थायी धर भएका ३५ वर्षीया केदारप्रसाद लामिछाने बरखी बारेको सेतो पहिरनमा भेटिए।

उनी ढलानको काम गर्ने सिनामंगल बस्दै आएका रहेछन अनि भर्खरै आमा बितेको खाना पनि बारेका रहेछन, लाईन बस्दै गर्दा राहात सकियो भने पछि रित्तो हात फर्किए पिडित लामिछाने। आज अन्तर्राष्टिय मजदुर दिवस आफ्नो हक अधिकारको निम्ति बलिदानी पूर्ण आन्दोलनमा उत्रिएको दिन सन् १८८६ मे १ को दिन अमेरिकाको सिकागो शहरमा मजदुरहरु आफ्ना हक अधिकारको लागि संधर्षमा उत्रिए। ८ घण्टा काम, ८ घण्टा आराम, ८घण्टा मनोरञ्जन नारासहित सुरु भएको मजदूर आन्दोलनको सम्झनामा श्रमिक दिवस मनाइन्छ। नेपालमा भने २००७ सालदेखि मनाउन थालिएको हो। मजदुरहरुले कत्तिको आनन्दको सास फेर्न पाएका छन भनेर त माथिका उदाहरणनै काफी छन्।

लकडाउनले रोजपरोटीकै समस्याले काठमाडौंमा मजदुरी गर्ने मजदुरहरु १० दिन सम्म हिडेर घर फर्किन बाध्य भए।
सरकार चलाउनेहरु कुर्चि तानातानको खेल खेल्दै छन्। कोरोना भाइरसले विश्व त्रसित नै छ,नेपाल पनि अछुतो रहेन, दिनानुदिन संक्रमित बढ्दैछन्, लकडाउन कति लम्बिन्छ थाहा छैन। हुनेले त माछाको झोल अनि लोकल कुखुराको रस र भात खाएर पेटमा बोसो जमाउदै फुल कोरल्दै होलान तर मजदुरहरु मुखमा भोटे ताल्चा लाएर पेट सुकाउदै बस्न बाध्य छन्। अहिले सबै मिलेर कोभिड-१९ लाई पार लगाई मुक्ति पाउने बेला हो, सबै मिलेर समस्याको समाधान गरौं, कोरोनालाई जितौं। मजदूरलाई सम्मान गरौं। श्रमिक दिवसको शुभकामना।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्