लकडाउन अवधिभर पाहुना प्रवेशमा रोक

लोकपाटी न्यूज

वीरेन्द्रनगर, ४ बैशाख। सुर्खेतको वीरेन्द्रनगरमा बन्दाबन्दी (लकडाउन)अवधिभर बाहिरबाट आउने पाहुना तथा नातेदारलाई प्रवेशमा रोक लगाइने भएको छ। नगरपालिकामा आउने विदेश, अन्य जिल्ला वा पालिका बाहिरबाट आउने पाहुना तथा नातेदार व्यक्तिलाई घरमा प्रवेश गर्न नदिइने भएको छ। विभिन्न जिल्लामा कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै नगर बाहिरबाट आउने पाहुनालाई प्रवेशमा रोक लगाइने भएको हो।

नगर कार्यपालिकाको बुधबार बसेको बैठकले बाहिरबाट आउने पाहुनालाई घरमा प्रवेश गर्न नदिने निर्णय गरेको कार्यवाहक नगरप्रमुख मोहनमाया ढकालले बताए । आगामी दिनमा बाहिरबाट आउने व्यक्तिलाई राख्ने गरी १ सय शय्याको क्वारेन्टाइन सार्वजनिक विद्याब्लयमा व्यवस्थापन गर्ने गरी अघि बढ्ने ढकालले जानकारी दिए। यसअघि ६० शय्याको क्वारेन्टाइन निर्माण भइसकेको छ।

त्यसैगरी राहत वितरणको कामलाई यही ७ वैशाखमा सम्पन्न गर्ने गरी अघि बढेको नगरपालिकाका प्रशासकीय अधिकृत दिपेन सुवेदीले जानकारी दिए । यसरी वितरण गर्दा सामग्रीको हकमा हाल प्रदेश सरकारबाट प्राप्त ५ सय ६९ प्याकेट खाद्यान्न वितरण गर्ने र सो बाट नपुग हुने भएमा नगरपालिकाले पुनः खरिद गरी पोका तयार गरेर वितरण गर्ने प्रशासकीय अधिकृत सुवेदीले बताए। यस्तै, पहिलो चरणको राहतमा छुटेका परिवारकोे विवरण वडा समितिको निर्णयसहित आज दिनको १२ बजेसम्म नगरकार्यपालिकाको कार्यालयमा पेस गर्न पनि अनुरोध गरिएको उनले बताए

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्