राहत माग्दै वडा कार्यालयमा धर्ना

लोकपाटी न्यूज

दार्चुला, ३ बैशाख। दार्चुलाको महाकाली नगरपालिका-८ का स्थानीयवासीले राहत उपलब्ध गराउन माग गर्दै वडा कार्यालयमा धर्ना दिएका छन्। धापका दलित परिवारका व्यक्तिले आफूहरुलाई राहत उपलब्ध गराउनुपर्ने मागसहित मङ्गलबार वडा कार्यालय धर्ना दिएका हुन्। महाकाली नगरपालिकाले सुपथ मूल्य पसल सञ्चालन गरेको भए पनि आफूहरुसँग अर्थाभावका कारण खरिद गर्न सक्ने अवस्था नभएको उनीहरुले जनाएका छन्।

उनीहरुले सुपथ मूल्य पसल नभइ निःशुल्क खाद्यान्न पाउनुपर्ने माग गरेका छन्। कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सरकारले गरेको बन्दाबन्दीका कारण आफूहरुले काम गर्न नपाएको र घरमा खाद्यान्न सामग्री केही नभएकाले राहत माग्न वडा कार्यलयमा आएको पावर्ती कोलीले बताए। वडा नं ८ कार्यालयले ५६ गरिब परिवारको विवरण नगरपालिकालाई पठाएको वडासचिव श्यामसिंह धामीले बताए। दलित परिवारको माग निःशुल्क वितरण गर्नुपर्ने भएकाले नगरपालिकाले मूल्य तोकी बिक्री गर्न भनेको हुँदा आफूले पैसा लिएर बिक्री गरिरहेको सचिव धामीको भनाइ छ। वडाध्यक्ष चक्रसिंह विष्टले पनि गरिब परिवारले राहतका लागि धर्ना दिएको विषयमा आफूले महाकाली नगरपालिकामा जानकारी गराएको दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्