सङ्लियो त्रिशूली

लोकपाटी न्यूज

काठमाडौं, २ बैशाख। त्रिशूली सङ्लिएपछि नदीतर्फ मानिसको आकर्षण बढेको छ। कोभिड –१९ बाट बचाउन गरिएको बन्दाबन्दीपछि पर्यटकीय नदी त्रिशूली कञ्चन सङ्लो भएको छ। धमिलो भएर पर्यटक आउन छाडेको नदी नीलो देखिन थालेको छ। किनार जान नै अरुचि लाग्ने अवस्था भएको नदी कञ्चन भएकाले मानिसको आकर्षण बढ्न थालेको हो । नदी किनारमा माछा मार्न मानिसहरु कोही जाल हान्दै छन्, कोही बल्छी थाप्दैछन्। नदी किनारमा माछा मार्न खोज्नेको लस्करै देखिएको छ।

३ हप्ताको समयमै नदी सङ्लो हुने अवस्थामा छ। नदी किनारमा स्थापना गरिएका बालुवा धुने यन्त्र तथा क्रसर उद्योग, ढुंगाखानी आदि बन्द भएका कारण नदीले आफ्नो पुरानो स्वरुप लिएको हो। नदी सफा भएको मौका पाएपछि नदी छेउछाउमा बस्नेहरु माछा मार्ने मात्र होइन पौडी खेलेर मजा लिन थालेको तथा कसैले लुगा धुने गर्न थालेको महाकाली मावि कुम्पुरका शिक्षक जानुका रिजालको अनुभव छ। अवैध रुपमा सञ्चालित खानीले नदी प्रदूषित पारेर बाह्रै महिना धमिलो आउने अवस्था आएको थियो । बीस वर्षअघिदेखि नदी किनारमा उत्खनन सुरु भएको हो । सुरुका वर्षमा नदी धमिलो थिएन। नदीमा ठूला यन्त्र जान थालेपछि नदी धमिलिएको संरक्षणकर्मी उत्तम कँडेलको भनाइ छ।

नदीलाई यसरी नै सङ्लो भएर बग्न दिने हो भने जलयात्रा गर्नेहरु बढ्ने छन्, होटेल व्यवसाय फस्टाउने छ।
सांस्कृतिक, धार्मिक पर्यटनको समेत सम्भावना बोकेको त्रिशूली जोगाउनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले बताए। नदी छेउका सबै उद्योग हटाउनुपर्नेमा सबै गाउँपालिका तथा नगरपालिका क्षेत्रका मानिस एकमत छन्। उद्योग हटाएर राष्ट्र निर्माण गर्न नसकिने भएकाले बालुवा धोएर निस्केको पानी सफा पारेर मात्र नदीमा हाल्ने व्यवस्था मिलाउनुपर्नेमा संरक्षणकर्मीको माग छ । -रासस।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्