निषेध गरेर जाने सोच अर्को एउटा महाभूल हो -पूर्वराजा

लोकपाटी न्यूज

काठमाडौं, १ बैशाख। पूर्वराजा ज्ञानेन्द्र शाहले ‘कसैले कसैलाई निषेध गरेर जाने सोचको आयु समाप्त भएको बताएका छन्। आइतबार साँझ नयाँ वर्ष ०७७ को शुभकामना सन्देश जारी उनले धरातलीय यर्थाथलाई आत्म स्वीकार गर्दै राष्ट्रिय भाव र एकता प्रवलिकरणको मार्ग स्पष्ट गर्नुपर्ने बताएका हुन। मानव सभ्यताको अनपेक्षीत चुनौतिको सामना गरिरहनु परेको कष्टकर परिस्थितिका माझ, नयाँ वर्ष २०७७ भन्दै नेपाल भित्र र बाहिर रहे बसेका सबै नेपालीहरुमा शुभकामना दिएका छन।

जारी सन्देशमा देशको सर्वोच्चताको रक्षार्थ राष्ट्र र नेपाली जनताप्रति पर्नसक्ने विभिन्न समयका खतरा टार्न हरसम्भव प्रयास गरेको पनि शाहले उल्लेख गरेका छन्।

यस्तो छ पूर्वराजा शाहको सन्देशः

नेपाली दिदीबहिनी तथा दाजुभाइहरु,

मानव सभ्यताको अनपेक्षीत चुनौतिको सामना गरिरहनु परेको कष्टकर परिस्थितिका माझ, नयाँ वर्ष २०७७ को आगमन भएको छ। नयाँ वर्ष प्रारम्भको यस सन्दर्भमा हामी नेपाल भित्र र बाहिर रहे बसेका सबै नेपालीहरुमा सुख, शान्ति तथा समुन्नतिको मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

कोरोना भाइरसको विश्वब्यापि महामारीबाट देशका विभिन्न भूभागमा र विश्वका विभिन्न देशमा रहे बसेका सबै नेपाली आक्रान्त, सन्त्रस्त र समस्याग्रस्त छन्। यस्तो स्थितिमा देश र आफुलाई सुरक्षित राख्न र बचाउ गर्दै हामी सबैले सजगता अपनाउनु पर्दछ । नेपाली जनता खुशी र सुखी रहून् एवम् देशको शिर सधैं सगरमाथा झैं उच्च रहोस् भन्ने नै हाम्रो अटल चाहना थियो, छ र रहनेछ।

आफुलाई गौण बनाएर देशको सर्वोच्चताको रक्षार्थ राष्ट्र र नेपाली जनताप्रति पर्नसक्ने विभिन्न समयका खतराहरु टार्न हामीले हरसम्भव प्रयास गरेको सर्वविदित नै छ ।

मानव स्वास्थ्यलाई एकै शताब्दीमा सबैभन्दा ठूलो खतरा सामना गर्नु परेको बेलामा नेपालीहरुले शान्त र सामूहिक रुपले राष्ट्रब्यापी रक्षाको पर्खाल कार्यान्वयन गरेका छन् । तर विद्यमान संकटबाट मुक्ति पाउन र भविश्यमा उत्पन्न हुने अस्वभाविक चूनौतिहरुको सामना गर्न हामी बीचको एकता अपरिहार्य हुन पुगेको छ । कसैले कसैलाई निषेध गरेर जाने सोचको आयु समाप्त भएको धरातलीय यर्थाथलाई आत्म स्वीकार गर्दै राष्ट्रिय भाव र एकता प्रवलिकरणको मार्ग स्पष्ट गर्न अब पनि सकेनौं भने इतिहासमा अर्को एउटा महाभूल हुने हामीले ठानेका छौं ।

हाम्रा पुर्खाले अनादीकाल देखि अबलम्बन गर्दै आएको वैदिक सनातन दर्शन, धर्म, संस्कृति, परम्परा तथा जीवन पद्धती नै सर्वश्रेष्ठ र बैज्ञानिक भएको महशुस अहिले विश्व जगतले स्वीकार्दै रहेको छ । हाम्रा मौलिक सनातनिक सभ्यताको पुनर्जागरण, वर्तमानको अनिवार्य चाहना र आवश्यकता बनिरहेको छ । यही जगमा उभि हाम्रो समाजको व्यवस्था, अर्थ व्यवस्था र शिक्षाको जगाधार बलियो तुल्याउन राष्ट्रिय प्रतिबद्धता हामीले लिनु पर्ने भइसकेको छ । मानवीय वा प्राकृतिक विपत्तिको अन्त्य गर्दै नूतन इतिहास रच्ने सफलता हामी सबै नेपालीलाई नयाँ बर्षमा प्राप्त होस ।

श्री पशुपतिनाथले विश्वमानव जगतको कल्याण गरुन् ।
जय नेपाल

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्