काठमाडौं, ३० चैत। भाटभटेनी सुपर स्टोर प्रालिले कोरोना भाइरस (कोभिड-१९ ) को परीक्षण एवं उपचारमा सहयोग पुर्याउने उद्देश्यले सुदूरपश्चिम प्रदेश सरकारका लागि २५ लाख सहयोग गरेको छ। भाटभटेनीका सञ्चालक मीन बहादुर गुरुङले आइतबार सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा गएर खानेपानी मन्त्री बिना मगरलाई २५ लाखको चेक हस्तान्तरण गरेका हुन्।
कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि सुदूरपश्चिम सरकारसँग खानेपानी मन्त्री मगरले समन्वय गरिरहेकी छिन्। सुदूरपश्चिम प्रदेश सरकारसँग समन्वय गर्न खानेपानी मन्त्री मगरलाई जिम्मेवारी दिइएको छ। कोरोना राहत कोषका लागि भाट भटेनीले उक्त सहयोग गरेको हो। मन्त्री मगरले सुदूरपश्चिम प्रदेश सरकारलाई उक्त चेक हस्तान्तरण गर्ने छिन्।
चेक ग्रहण गर्दै मन्त्री मगरले भाट भटेनीले यस्तो विषम परिस्थितिमा गरेको सहयोगप्रति धन्यवाद र आभार प्रकट गरिन्। विपद्को समयमा आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न उनले सबैलाई आव्हान समेत गरिन्। उनले यस किसिमको सहयोगले कोरोना संक्रमणको सम्भावित जोखिमलाई नियन्त्रण गर्न ठूलो मद्दत पुग्ने बताइन्।



लोकपाटी न्यूज

