एजेन्सी। संयुक्तराज्य अमेरिकामा रोजगारी गुमाउनेको संख्या एक करोड ६८ लाख पुगेको छ। कोरोना भाइरस कोभिड-१९ महामारीका कारण उद्योग व्यवसाय बन्द भएपछि रोजगारी गुमाउनेको संख्या एक करोड ६८ लाख पुगेको छ।
कोरोना भाइरसका कारण अमेरिका सहित विश्वका धेरै देश लकडाउनको अवस्थामा छन्। अमेरिकी सरकारले बिहीबार सार्वजनिक गरेको विवरणमा गत साता बेरोजगारी प्रोत्साहन भत्ताका लागि ६६ लाख कामदारले आवेदन दिएको उल्लेख छ।
यसअघि नै १ करोडभन्दा बढीले दुई साताको अवधिमा रोजगारी गुमाएका थिए। यसको अर्थ प्रत्येक १० जना अमेरिकी कामदारमध्ये १ जनाले रोजगारी गुमाएका छन्। यो संख्या सन् १९४८ यताकै सबैभन्दा ठूलो हो। जानकारहरुका अनुसार अझै धेरै रोजगारी गुम्ने खतरा देखिएको छ।
अमेरिकी केन्द्रीय बैंकले पनि घरायासी र व्यवसायलाई लक्षित गरी २३ खर्ब डलर बराबरको सहुलियत कर्जा उपलब्ध गराउने घोषणा गरिसकेको छ। अप्रिलमा बेरोजगारी दर १५ प्रतिशत पुग्नेछ, र यो अवस्था विश्वव्यापी मन्दी (ग्रेट डिप्रेसन) को अवस्थापछि पहिलो पटक देखिएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अर्थव्यवस्था तत्कालै सही ठाउँमा आउने विश्वास व्यक्त गरेका छन्। राष्ट्रपति ट्रम्पले बिमान सेवालाई कसरी मद्दत गर्न सकिएला भनेर आफूले अर्थमन्त्री र यातायात मन्त्रीसँग विचारविमर्श गरेको बताउँदै यस क्षेत्रमा सुधार ल्याउन सप्ताहान्तमा एउटा प्रस्ताव अघि बढाउन लागेको जानकारी दिए।



लोकपाटी न्यूज

