काठमाडौं, २७ चैत। कोभिड-१९ को जोखिम हुन नदिन भारतले गरेको ‘लकडाउन’ले महाराष्ट्रको मुम्बैमा अलपत्र परेका ६० जना नेपाली मजदूर समस्यामा परेका छन्। बैतडीका ती मजदूर ३ सातादेखि मुम्बैको बरौली र पवईस्थित ढावाको स्टाप कोठामा आश्रय लिइरहेका छन्। उनीहरुले उद्धारका लागि पहल गरिदिन आग्रह गरेका छन्। बरौलीमा होटलमा काम गर्दै आएका मेलौली नगरपालिका–४ का जगदीश भण्डारीले आफूहरु २२ दिनदेखि त्यहाँ अलपत्र परेको टेलिफोन मार्फत् जानकारी दिए। ‘एउटा सानो कोठामा १२/१५ जना खादिएर बसेका छौँ।’ उनले भने,‘साहुले मुश्किलले अहिलेसम्म खाना दिएको छ।’ उनले होटल साहुले स्वदेश फर्किन दबाब दिइरहेकाले झन समस्यामा रहेको दुखेसो पोखे।
‘नयाँ दिल्लीमा रहेको नेपाली दूतावासमा धेरै पटक फोन ग¥यौँ ।’भण्डारीले दुखेसो पोख्दै भने, ‘दूतावासको फोन उठ्दैन।’ त्यसैगरी मुम्बैमै अलपत्र परेका मेलौली नगरपालिका-३ का सन्दीप चन्दले लकडाउनका कारण भोकै बस्नुपर्ने अवस्था आएको जानकारी दिए। ‘हुलिएर बसेका छौँ। बाहिर कोरोनाको संत्रास धेरै छ।’ भने, ‘अहिलेसम्म यहाँको सरकारले स्वास्थ्य परीक्षणलगायत अन्य व्यवस्थापनमा कुनै चाँसो देखाएको छैन।’ उनले कोठाभित्र खादिएर बस्दा अन्य रोगको सङ्क्रमणको जोखिम रहेको बताए। ‘त्यहाँ लकडाउन खुल्नासाथ साहुले घर जान भनिरहेको छ।’ उनले भने, ‘हामीलाई यहाँबाट उद्धार गरिए नेपालमा क्वारेन्टाइनमा बस्थ्यौँ ।’ त्यसैगरी मुम्बैको पवईमा अलपत्र नेपालीले पनि उद्धारको याचना गरेका छन्। बैतडीकै नरेन्द्र चन्दले मुम्बैमा धेरै नेपाली अलपत्र रहेको जानकारी दिए।
‘एक्कासी लकडाउन भयो, नेपाल टाढा भएकाले फर्किन सकेनौँ ।’ उनले भने, ‘यहाँ रोगले भन्दा पनि भोकले मरिन्छ की भन्ने डर छ । ’ उनले भारतमै भए पनि क्वारेन्टाइनमा राख्न प्रबन्ध मिलाइदिन भारतीय सरकारसित आवश्यक समन्वय गरिदिन आग्रह गरेका छन्। सुदूरपश्चिममेली नागरिकको सदियौँदेखिको रोजगारीको प्रमुख गन्तव्य हो, भारत । लकडाउनअघि र पछिको समयमा सुदूरपश्चिमका नाकाबाट १लाख ४३ हजार नागरिक भारतबाट फर्किएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता झंकरबहादुर विष्टको भनाइ छ।
नेपाल–भारत सीमामा करिब १ हजार ५ सय को हाराहारीमा नेपाली क्वारेन्टाइन बसेका छन् । कञ्चनपुरमा भने सिमावर्ती भारतीय बजार बनवासा र टनकपुरमा गरी २३५ जना नेपाली क्वारेन्टाइनमा रहेको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले जानकारी दिए। सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले सीमा सुचारु भएपछि सीमा क्षेत्रमा रहेका नेपालीहरुलाई कहाँ, कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पछि छलफल हुनसक्ने बताए। ‘सीमा क्षेत्रमा आवागमन रोक्न यहाँका खुलानाका समेत सशस्त्र प्रहरी थप परिचान भएको छ ।’ उनले भने, ‘जो जहाँ छौँ, त्यही सुरक्षित बसौँ भन्ने सोच राख्नुपर्छ।’



लोकपाटी न्यूज