चीनमा कोरोना भाइरसको महामारी फर्कन सक्छ : राष्ट्रपति सी

Xi jinping-10
लोकपाटी न्यूज

बेइजिङ ।चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस कोभिड-१९ ले अहिले युरोप र अमेरिकामा विकराल रुप लिएको छ। चीनमा ३३ सय भन्दा बढीको मृत्यु भएपछि महामारी लगभग साम्य भएको छ।

कोरोना भाइरस महामारीको इपिसेन्टर मानिएको वुहानमा ७६ दिनपछि बुधबार लकडाउन खुलेसँगै जनजिवन सामान्य बन्दै गएको छ। राष्ट्रपति सि जिनपिङले चीनमा कोरोना भाइरसको महामारी फर्कन सक्ने चेतावनी दिएका छन्। चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार कोरोना भाइरसको महामारी विश्वभर फैलिरहेका कारण देशभित्र दोस्रो तरङ्ग आउने सक्ने सीले चेतावनी दिएका हुन्। सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको पोलिट ब्युरो बैठकमा सीले विश्व अर्थतन्त्र दिनदिनै ओरालो लागिरहेका बेला अस्थिरता र अनिश्चितताको विकास भइरहेको बताएका थिए।

बुधबार मात्र वुहानमा लकडाउन अन्त्य गरिएको थियो। सिन्ह्वाका अनुसार राष्ट्रपति सीले विदेशबाट भित्रनेमाथि निगरानी र उच्च सतकर्ता अपनाउने सरोकारवाला सरकारी अधिकारीलाई निर्देशन दिएका छन्। कोरोना भाइरसको महामारीका कारण विश्वभर करिब ८९ हजारको ज्यान गइसकेको छ। मृत्यु हुनेमा बढी जसो युरोपीयन र अमेरिकीहरु रहेका छन्। अमेरिकामा १४ हजारभन्दा बढीको ज्यान गएको छ भने इटाली, फ्रान्स, स्पेन र बेलायतमा मात्र ५० हजारले ज्यान गुमाएका छन्। विश्वभर १५ लाखभन्दा बढी संक्रमित छन् भने तीमध्ये साढे ३ लाख निको भएका छन्।