काठमाडौं, चैत। कोराना भाइरसको महामारीले विश्वलाई आतङ्कित बनाइरहेको अवस्थामा नेपाल एम्बुलेन्स सेवा (नास) र नेपाल सरकारद्वारा गठित कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) बीच एम्बुलेन्स सेवाका लागि साझेदारी भएको छ। उक्त साझेदारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाडौं महानगरपालिकाको सहितको उपस्थितिमा भएको हो।
सीसीएमसीका संयोजक सचिव लक्ष्मण अर्याल र नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष रञ्जीत आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। साथै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र काठमाडौं महानगरका प्रशासन विभाग प्रमुख नमराज ढकालले पनि उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौतापश्चात नासले कोभिड १९ का बिरामीहरु उपत्यकाभित्र ओसारपसार गर्ने तथा डेडिकेटेड एम्बुलेन्स सेवा प्रदान गरेर नेपाल सरकारलाई सहयोग पुर्याउनेछ। यस कार्यका लागि सबै सुविधासहितका नासका ५ वटा एम्बुलेन्स संचालन गरिनेछ, जसमा इमर्जेन्सी मेडिकल टेक्निसियन, अन्य आवश्यक उपकरणहरु र स्वास्थ्यकर्मी र चालकलाई आवश्यक पर्ने पीपीई पनि उपलब्ध हुनेछ। साथै कोभिड १९ सम्बन्धि बिरामीहरुको ओसारपसार सम्बन्धि अनुरोधहरु सबै निकायहरुले हाल सञ्चालनमा भएको १०२ नम्बरमा रिडाइरेक्ट गर्नेछन्।
नासका अध्यक्ष रञ्जीत आचार्यले भने, “विश्वभरि फैलिरहेको कोराना भाइरसको महामारीले सबैलाई त्रसित बनाएको छ। यस्तो विपदको घडिमा नेपाल सरकारलाई सहयोग गर्न पाउँदा नेपाल एम्बुलेन्स सेवा आभारी छौं। नासले यसैपनि कोभिड१९ को पुर्व तयारी गरेर स्वास्थ्यकर्मीलाई आवश्यक कोभिड १९ सम्बन्धित तालिम दिई सेवा पुर्याइ नै रहेको थियो, अब झन आधिकारिकता प्राप्त भयो। जस्तोसुकै विपदमा पनि आकस्मिक सेवासहितको २४ सै घण्टा सेवा प्रदान गर्दै आइरहेको र यो कोभिड १९ रोकथाम र यस सम्बन्धि विरामीहरुको सेवाका लागि हामी नेपाल सरकारलाई सहयोग गरि सहकार्य गर्न सदैव तयार छौं।”
नेपाल एम्बुलेन्स सेवाले सन् २०१० मा सञ्चालनमा आएदेखि हालसम्म ५०,००० भन्दा बढि बिरामीहरुलाई सेवा पुर्याइसकेको छ भने ५५ वटा भन्दा बढि शिशुको जन्म एम्बुलेन्समै स्वास्थ्यकर्मीले सुरक्षित डेलिभरी गराएका छन्।
के हो नास ?
नेपाल एम्बुलेन्स सेवा (नास) गैरनाफामुलक संस्था हो, जसले हस्पिटल पुग्नुपूर्व बिरामीलाई आकस्मिक उपचार प्रदान गर्दै आईरहेको छ। नासले २४ सै घण्टा आकस्मिक उपचारका लागि तीन अंक रहेको १०२ टोल फ्रि नम्बर सञ्चालन गरिरहेको छ, जसले सिधै नास कल सेन्टरमा सूचना प्राप्त हुन्छ र नजिकमा रहेका एम्बुलेन्सलाई भीएचएफ रेडियोद्धारा तत्काल परिचालन गर्दछ ।
अत्याधुनिक उपकरण, अत्याधुनिक उपचार विधि र तालिम प्राप्त आकस्मिक सेवा स्वास्थ्यकर्मी साथमा उपलब्ध भएकाले गर्दा हस्पिटल पुग्नु भन्दा पहिला नै एम्बुलेन्सभित्र अत्यावश्यक चिकित्सा सेवा प्रदान गरिन्छ। नासको लक्ष्य भनेको बिरामीहरुका लागि आकस्मिक स्वास्थ्यकर्मी सहितको द्रुत एम्बुलेन्सहरु, उपचारको सुनिश्चितता गर्नका लागि पूर्ण सुविधा र आवश्यक अस्पतालहरुबीच समन्वय सेवा परिचालन गर्नु हो। नासका आकस्मिक मेडिकल प्राविधिकहरुलाई अमेरिकाको स्ट्याण्डफोर्ड युनिभर्सिटी स्कूल अफ मेडिसिनका विज्ञहरुद्धारा तालिम प्रदान गरिएको छ।
सन् २०१० मा नासले विभिन्न दाताहरू बृहत इन्भेस्टमेन्ट (ओम राजभण्डारी), गोल्छा अर्गनाइजेशन (शेखर गोल्छा), पवन अग्रवाल, धनगढी, किष्ट बैंक हाल प्रभु बैंक र अन्नपूर्ण ट्राभल्स वेष्टर्न युनियनबाट १–१ थान एम्बुलेन्स प्राप्त गरि सेवा शुभारम्भ गरेको थियो। नासले अहिले १० वटा एम्बुलेन्स काठमाडौं उपत्यका लगायत चितवन, बुटवल र पोखरामा सञ्चालन गरिरहेको छ।



लोकपाटी न्यूज

