पर्वतको महाशिलामा पहिलो चरणको राहत बितरण कार्य सम्पन्न

mahashila gaupalika
लोकपाटी न्यूज

निर्मल पौडेल/ पर्वत,२५ चैत। पर्वतको महाशिला गाउँपालिकामा पहिलो चरणको राहत बितरणको काम सकिएको छ। विश्वभरी फैलिरहेको कोरोना भाइरस कोभिड-१९ का कारण देश लकडाउनमा गएपछि जिल्लामानै पहिलो पटक राहत प्याकेजको घोषणा गरेर बितरण गर्न शुरुवात गरेको गाउँपालिकाले पहिलो चरणको राहत बितरणको काम सम्पन्न गरेको हो।

महाशिला गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष जिवन उच्चै ठकुरीका अनुसार पहिलो चरणमा गाउँपालिका भित्र रहेका १ सय ५६ घरधुरीका पीडित परिवारलाई रु २ हजारका दरले बितरण गरिएको हो। लकडाउन भएपछि गाउँपालिका भित्र रहेका तथा विकास निर्माणका लागि अन्य जिल्ला तथा ठाउँहरुबाट आएर बसोवास गर्ने गरीब मजदुर तथा बिपन्न वर्गकाहरुका लागि पहिलो चरणमा राहत बितरण गरिएको प्रवक्ता उच्चैले जानकारी दिए।

गाउँपालिकामा लकडाउनलाई पूर्ण कार्यान्वयन गरी वडा तथा टोलटोलमा समन्वय गरी सामाजिक दुरी कायम गर्दै राहत प्रदान गरिएको ठकुरीले बताए। यसैगरी गाउँपालिकाले बिहीबारबाट दोस्रो चरणको राहतको पनि व्यवस्था गरेको छ। गाउँपालिका भित्र रहेका मजदुरी तथा ज्यालादारी गरेर गुजारा चलाउने मात्र नभई अन्य गरीब तथा निम्न वर्गका कोही कसैले गुनासो गरे तथा राहतको महशुस गरे त्यस्ता व्यक्तिहरुलाई तुरुन्त १ घण्टाभित्र घरमै गएर राहत प्रदान गर्ने ठकुरीले बताए।

यसैगरी स्वच्छिक रुपमा राहत लिन चाहनेहरुले वडा कार्यालयमा निवेदन दिनु पर्ने,जनप्रतिनिधिसँग वा टोल विकास समितिका अध्यक्षसँग सम्पर्क गरी राहत लिन सक्ने भएका हुन्। राहत दिएर प्रचारबाजी गर्न भन्दा पनि वास्तविक पीडितहरुलाई वैधानिक रुपबाट महशुस हुने गरी प्रदान गरिएको गाउँपालिका कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्