रुकुम, २३ चैत। रुकुमपूर्वका किसानले उत्पादन गरेको सिमीले बजार पाउन छाडेपछि चामलसँग साट्न थालिएको छ। किसानले एक पाथी चामल बराबर त्यति नै सिमी साट्ने गरेका छन्। सिस्ने गाउँपालिका वडा नम्बर १ का सबै ठाउँमा सिमी फल्छ । सबैले बराबर परिमाणमा सिमी दिएर चामल साट्ने गरेका छन्।
उनीहरुले चामल लिएर घरमा आउने जो कोहीलाई सिमी दिएर पठाउँछन्। सिस्ने गाउँपालिका वडा नम्बर १ का मनराज बुढाले प्रशस्त मात्रामा सिमी उत्पादन भएपनि बजार नपाउदा चामलसँग साट्न थालेको बताए। भुमे गाउँपालिका वडा नम्बर २ की बलकुमारी बुढाले पनि आफूले उत्पादन गरेको सबै सिमी बिक्री गरिसक्नुभएको छ । शिक्षक र व्यापारीले समेत चामलसँग सिमी साटेर बजारसम्म पु¥याउने गरेका छन्।
चामलसँग साट्दा सिमीको कम मूल्य पर्ने गरेको स्थानीय नन्दराम बुढाले बताए। भुमे गाउँपालिकाको वडा नम्बर १, २, ३ र अन्य वडामा पनि प्रशस्त मात्रामा सिमी उत्पादन हुने र चामलसँग नै सिमी साट्ने गरिन्छ।व्यापारीले दुई बोरा चामल दिएपछि आफुले एक बोरा सिमी दिने गरेको र त्यो सिमी व्यापारीले बजारमा लगेर दोब्बर रुपैयाँमा बेच्ने गरेको बलकुमारीले बताए। गाउँबाट चामलसँग साटेर ल्याएको सिमी व्यापारीले बजारमा ६ सयदेखि १ हजार रुपैयाँ प्रतिपाथी बेच्ने गरेका छन्।
जिल्लाको अधिकांश क्षेत्रमा धान उत्पादन हुँदैन, मुख्य खाद्यान्न बाली भनेकै मकै, गहुँ, आलु हो । भात खानका लागि हुनेहरुले सिमी साटफेर गर्छन् भने नहुनेले किनेर खान्छन्। गाउँको उत्पादनले भनेजस्तो बजार नपाएको सिस्ने गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मानबहादुर बुढाले बताए। सडकसञ्जालमा नजोडिएको त्यस क्षेत्रमा उत्पादन हुने हरेक बस्तुहरुको अवस्था यस्तै रहेको छ । प्रशस्त मात्रामा उत्पादन हुने आलु पनि बजार पुर्याउन नसक्दा कुहिएर खेर जाने गरेको छ । वडामा जहिलेसम्म सडक पुग्दैन त्यतिबेलासम्म समस्याको अन्त्य नहुने वडा अध्यक्ष बुढाले बताए ।



लोकपाटी न्यूज

