चैत्र २० : चीनको सेनजेन शहरमा कुकुर र बिरालोको मासु खान र बेच्नमा प्रतिबन्ध लागेको छ। सेनजेन कुकुर र बिरालोको मासु खान र बेचबिखनमा प्रतिबन्ध लगाउने चीनकै पहिलो शहर बनेको बीबीसीले जनाएको छ।
कोरोना भाइरस जंगली जनावरको मासु बेचबिखन हुने स्थानबाट सरेको खबरहरु सार्वजनिक भएपछि सेनजेनले कुकुर र बिरालोको मासु खान र बेच्न प्रतिबन्ध लगाएको हो।
आगामी मे १ तारिखबाट नयाँ नियम लागू हुने बताइएको छ। अन्तर्राष्ट्रिय मानव समाजका अनुसार हरेक वर्ष एसियामा ३ करोड कुकुरहरु मासुको प्रयोजनका लागि काटिन्छन्। चीनमा कुकुरको मासु खाने मेला नै लाग्ने गरेको छ।
चीनले कोरोनाको महामारीबाट देश मुक्त भएको दावी गरे पनि चीनमा संक्रमणबाट दैनिक ५–६ जना नागरिक मरिरहेका छन्। कोरोनाको भयावह स्थितिबाट मुक्त भए पनि चीनले अझै पूर्ण विजय हासिल गर्न सकेको छैन। कुकुर र बिरालोबाट पनि कोरोना सर्नसक्ने आशंकाबीच मासु खान प्रतिबन्ध गरिएको हो।



लोकपाटी न्यूज

