किन यति धेरै हतोत्साहित छन् डोनाल्ड ट्रम्प ?

Donald Trump
लोकपाटी न्यूज

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या यदि एक लाखसम्ममा रोक्न सके‚ त्यो नै राम्रो हुने बताएका छन्। कोराना महामारीबाट २ लाखभन्दा बढी नागरिक संक्रमित भएका बेला ट्रम्पले यस्तो बताएका हुन्।

सोमबार ह्वाइट हाउस रोज गार्डेनमा बोल्दै राष्ट्रपति ट्रम्पले यदि उनको प्रशासनले कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाखसम्ममा रोक्न सक्यो भने त्यो नै सबैका लागि राम्रो हुने बताएको अन्तर्राष्ट्रिय समाचार संस्था ‘द गार्जेन’ले उल्लेख गरेको छ। यसैगरी उनले अमेरिकामा सामाजिक प्रतिबन्ध अप्रिल ३० सम्मका लागि बढाइएको समेत बताएका छन्।

पछिल्लो समय अमेरिकी राष्ट्रपति ट्रम्पका बयान फेरिइरहेका छन्। अमेरिकामा कोरोना संक्रमण अरु देशको तुलनामा धेरै नै फैलिरहेको छ। अहिले अमेरिकामा एक लाखभन्दा बढी कोरोनाबाट संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या ४ हजार पाँच सय नाघिसकेको छ।

पछिल्लो समय राष्ट्रपति ट्रम्पको बयान जसरी फेरिएको छ‚ त्यसलाई आधार मानेर हेर्दा स्थिति एकदम नाजुक भएको विश्लेषण विभिन्न विज्ञहरूले गरिरहेका छन्। पछिल्लो समय कोरोनाका कारण मृत्यु हुनेहरुका संख्या र अनुपात दुवै अमेरिकामा भयानक देखिएको छ।

जनवरी ३० मा ट्रम्पले भनेका थिए, ‘कोरोना भाइरसको संक्रमण हाम्रो नियन्त्रणमा छ। अहिलेको समयमा अमेरिकामा यो समस्या धेरै नै सानो हो। अहिलेसम्ममा ५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ।’ फेब्रुअरी १० सम्म पनि उनले कोरोना महामारीलाई खासै गम्भिर रुपमा लिएको देखिएन। उनले भनेका थिए, ‘यस्तो लाग्दैछ कि अप्रिलसम्ममा‚ जब गर्मी मौसम सुरू हुन्छ‚ त्यसपछि यसको संक्रमण चामत्कारिक रुपमा क्रमशः हराएर जानेछ।’

ट्रम्पका भनाइहरु एकपछि अर्को हल्का रुपमा सार्वजनिक हुँदै गए। उनले महामारीको सम्भावित जोखिमलाई नै बेवास्ता गरेजस्तो उनका तर्कहरुले पुष्टि गर्दछन्। फेब्रुअरी २७ का दिन उनले फेरि आफ्नो बोली बदलेर भने, ‘भाइरस‚ एकदिन जादूयी रुपमा स्वतः हराएर जानेछ।’

मार्च १७ मा उनले भने, ‘जब कोरोना भाइरसलाई महामारीको घोषणा गरियो‚ त्योभन्दा धेरै पहिलादेखि नै यसले महामारीको रूप लिइसकेको थियो।’ मार्च २५ मा उनको बोली फेरियो, ‘हामी छिट्टै नै सामाजिक प्रतिबन्ध खोल्ने तयारी गरिरहेका छौं। म इस्टरमा जानका लागि एकदमै उत्सुक भएको छु।’

मार्च ३० मा उनको अभिव्यक्ति सबैभन्दा निराशाजनक देखियो। उनले भने, ‘अमेरिकामा जति हामी मृत्युदरलाई जतिसक्दो कम गर्न सक्छौं‚ त्यति नै हाम्रो लागि राम्रो हुनेछ। र‚ मृत्यु हुनेको संख्या १ लाखसम्ममा रोक्यौं भने‚ यो नै हाम्रा लागि राम्रो हुनेछ।’