काठमाडौं। नेकपाकी नेतृ एवं सांसद शान्ता चौधरीले सम्झौताअनुसार समयमा सामान सप्लाई नगर्ने ओम्नी समूहसँगको सम्झौता रद्द गर्ने सरकारको निर्णयलाई स्वागत गरेकी छिन्। सामाजिक सञ्जालमा प्रतिक्रिया लेख्दै चौधरीले उक्त कुरा बताएकी हुन्।
सांसद चौधरीले स्वास्थ्य मन्त्रालयको बोल्ड निर्णयलाई आफूले सम्मान गरेको बताएकी छिन्। उनले लेखेकी छिन्, ‘सम्झौताअनुरुप समयमा सप्लाई गर्न नसक्ने भएपछि ओम्नी समूहसँग सम्झौता रद्द गर्नुका साथै ५ करोड रुपैयाँ धरौटी जफत गरेर स्वास्थ्य मन्त्रालयले उचित कदम चालेको छ। स्वास्थ्य मन्त्रालयको यो बोल्ड निर्णयप्रति हार्दिक सम्मान छ। सही काम गर्दै अगाडि बढ्नु, स्वास्थ्यमन्त्रीज्यू तपाईंलाई हाम्रो साथ रहिरहने छ।’
बुधबार दिउँसो स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिएका थिए। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन यो समूहसँग सम्झौता गरेको थियो।
त्यस सम्झौताअनुसार सरकारले नेपाल एयरलाइन्सको विमान पठाएर आइतबार व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगायत धेरै स्वास्थ्य सामग्री पनि ल्यायो । तर, बिना प्रतिस्पर्धा निकै महंगो मूल्यमा उपकरण खरिदको सम्झौता गरिएको भन्दै सरकारको आलोचना भयो।
विभागका महानिर्देशक श्रेष्ठले पनि मन्त्रालय बनाएको कोटेशनभन्दा २० प्रतिशत बढी मूल्य तिरिएको र ओम्नी समूहले सम्झौताअनुसार स्वास्थ्य उपकरण ल्याउन नसकेकाले सम्झौता रद्द गर्ने निर्णय भएको बताएका थिए।
श्रेष्ठका अनुसार पहिलो खेपमा ल्याउनुपर्ने सामानमध्ये जम्मा १० प्रतिशत मात्र आएको छ। एक लाख सेट पीपीई पहिलो लटमा ल्याउने सम्झौता थियो। तर, १० हजार थान मात्र आयो। एन ९५ मास्क, ग्लोब्स र सर्जिकल मास्क पनि सम्झौता अनुसार दिन सकेन। पहिलो लटमा १० हजार एन ९५ मास्क र र एक लाख जोडा ग्लोब्स मात्र आएको छ।
यस्तै, भोलि २ अप्रिलमा दोस्रो खेप सामान आइसक्नुपर्ने हो। तर, त्यसको सम्भावना देखिँदैन। यो कहिले ल्याउने भनेर प्रस्ताव पनि नगरेकाले सम्झौता रद्द गर्ने र ओम्नी समूहलाई कालोसूचीमा राख्न आग्रह गर्ने निर्णय भएको श्रेष्ठले बताएका थिए।
विभागले अब नयाँ खरिद प्रक्रिया सुरु गर्नेछ। तीन दिन मात्र समय दिएर भोलि प्रस्ताव आह्वान गर्ने निर्णय भएको विभागका महानिर्देशक श्रेष्ठले बताएका छन्। उनले सस्तोमा सामान ल्याउन निवेदन दिन पनि सप्लायर्सहरुलाई आह्वान गरेका छन्।
नेकपाकी नेतृ चौधरीले स्वास्थ्य मन्त्रालयको निर्णय जनताको पक्षमा भएको भन्दै त्यसको स्वागत गरेकी हुन्। उनले मन्त्री भानुभक्त ढकालको बोल्ड निर्णयले उनलाई सफलता मिल्ने विश्वाससमेत व्यक्त गरेकी छिन्।



लोकपाटी न्यूज

