क्वारेन्टाइमा राखिएका नागरिकलाई कुनै अभाव हुन दिन्नाैं

लोकपाटी न्यूज

काठमाडौं, १४ चैत। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ९ वटै जिल्लाका क्वारेन्टाइनमा राखिएका नागरिकलाई कुनै किसिमको अभाव नहुने बताएका छन्। भारतबाट काम गरेर फर्किएका र क्वारेन्टाइनमा राखिएका कुनै पनि नागरिकलाई समस्या हुन नदिन प्रदेश सरकारले आवश्यक व्यवस्था मिलाएको बताए।

मख्यमन्त्री भट्टले कोरोना भाइरसका विरुद्ध सबैले एकजुट भएर लाग्नुपर्नेसमेत बताए। कोरोना भाइरस जो कोहीलाई पनि लाग्न सक्ने भएकाले सबैले घरैमा बस्न र सावधानी अपनाउनसमेत उनले आग्रह गरे। कोरोना नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारले सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा पर्याप्त बजेट विनियोजन गरेकाले उपचारका लागि डराउनु पर्ने अवस्था नभएको उनको भनाइ छ।

उनका अनुसार विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरस ९कोभिड–१९०को रोकथामका लागि सुदूरपश्चिम प्रदेश सरकारले ११ करोड ५० लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेको छ। मुख्यमन्त्री भट्टले कोरोना भाइरसको सम्भावित सङ्क्रमण न्यूनीकरणका लागि स्थापना भएका सुदूरपश्चिमका सबै क्वारेन्टाइनमा अत्यावश्यकीय सामग्री आपूर्ति गर्न सबै स्थानीय तहलाई निर्देशन समेत दिइसकिएको उल्लेख गरे।

प्रदेश सरकारले सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा कोरोनाको जोखिम न्यूनीकरणका लागि भन्दै आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत उप–महानगरपालिकालाई ५ लाख, नगरपालिकालाई ४ लाख र गाउँपालिकालाई ३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी डोटीमा भारतबाट फर्किएका व्यक्तिहरूलाई क्वारेन्टाइनमा राखिएको छ ।

भारतका विभिन्न शहरबाट काम गरेर आफ्नो घर फर्किएका पुरुष २ सय ५८, महिला २८ र बालबालिका २५ गरी ३ सय ११ जनालाई जिल्लाका ९ स्थानीय तहका विभिन्न १२ स्थानमा बनाइएका क्यारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

त्यस्तै, जिल्ला अस्पताल डोटीको आइसोलेसन वार्डमा राखिएका एक जना बिरामीको स्वाव परीक्षणका लागि काठमाडौँ पठाइएको जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा। ज्योति पाण्डेले बताए ।

भारतबाट काम गरेर आएका ३११ जनालाई जिल्लाको बडिकेदार गाउँपालिकास्थित बीपीनगर, खड्यौली, शिखर नगरपालिका तल्कोट, आली, बानीडुग्रीसैन, पूर्वी चौकी गाउँपालिकाको साना गाउँ, आदर्श गाउँपालिकाको मौवा, बोगटान फुड्सिल गाउँपालिकाको चबरा चौतारा, जोरायल गाउँपालिकाको सिलिङ्गीबाग, हाट तथा दिपायल सिलगढी नगरपालिका र केआई सिंह गाउँपालिकाको राजपुरमा निर्माण गरिएका क्वारेन्टाइनमा राखिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्