चीन र अमेरिकी राष्ट्रपतिबीच टेलिफोन बार्ता

लोकपाटी न्यूज

काठमाडौं, १४ चैत। अमेरिकामा कोरोना भाइरस तिब्र गतिमा फैलिरहदा अमेरिका र चीनका राष्ट्रपतिबीच टेलिफोनमा कुराकानी भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङबीच भएको टेलिफोन कुराकानीमा विस्तृत छलपल भएको बताइएको छ।

चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले बिहीबार भएको जी-२० मुलुकहरूको भिडिओ कन्फरेन्सपछि उत्त कुराकानी भएको जनाएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले बिहीबार एक ट्विट गर्दै चीनका राष्ट्रपति सीसँगको टेलिफोन कुराकानी भएको बारे जानकारी दिए । उनले ट्वीटमा राष्ट्रपति सीसँग कोरोनाबारे विस्तृतमा कुराकानी भएको बताएका छन्।

‘केहीबेरअघि राष्ट्रपति सीसँग निकै राम्रो कुराकानी भयो। हाम्रो दुनियाँको ठूलो भागलाई चपेटामा पारेको कोरोना भाइरसबारे विस्तृत छलफल गर्‍यौं। चीनले अहिलेसम्म यो भाइरसबारे गहिरो बुझाइ विकसित गरेको छ। हामी सँगसँगै काम गरिरहेका छौं,’ ट्रम्पले लेखेका छन्।

त्यसअघि भएको भिडिओ कन्फरेन्समा चिनियाँ राष्ट्रपति सीले कोरोनाको संक्रमण रोक्न विश्वव्यापी सहकार्य हुनुपर्ने, अर्थतन्त्रलाई गति दिन कार्यक्रम ल्याउनु पर्ने र अमेरिकाले भाइरससँग जोडेर चीनलाई बदनाम गर्ने काम रोक्नु पर्ने बताएका थिए। चीनको वुहानबाट फैलिएको कोरोना भाइरसलाई ट्रम्पलेले चिनियाँ भाइरस भनेपछि चीन क्रुद्ध भएको थियो।

दुई वर्षदेखि व्यापार युद्धमा रहेका अमेरिका र चीनबीच पछिल्लो पटक कोरोना भाइरसबारे गम्भीर मतभेद देखिएको थियो।