धकधई, १३ चैत। रुपन्देहीको रोहिणी गाउँपालिकाले १५ शैयाको क्वारेन्टाईन स्थापना गर्ने भएको छ। बाहिरबाट आएका नेपालीहरुलाई लक्षित गरी १५ शैयाको क्वारेन्टाईन स्थापना गर्ने भएको हो।
मंगलबार गाउँपालिमा बसेको बैठकले धकधईमा रहेको रामनरेश आदर्श माध्यमिक विद्यालयमा हाललाई १५ शैयाको क्वारेन्टाई बनाउने र आवश्यकता अनुसार यसलाई थप्दै लैजाने निर्णय गरेको हो। रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले कोरोना भाइरस कोभिड-१९को रोकथाम तथा नियन्त्रणको लागि क्वारेन्टाईनको आवश्यकता भएको बताए।
उनले रोहिणी गाउँपालिकामा पनि धेरै जना वैदेशिक रोजगारको सिलसिलामा बाहिर गएको र हाल घर फर्किएर आएकोले ती व्यक्तिहरुको निगरानी बढाइएको बताए। कोरोना संक्रमित एक युवती चढेकै हवाईजहाजमा रोहिणी गाउँपालिकाका युवा पनि आएकोले उनिमाथि विशेष निगरानी राखिएको यादवले बताए।
रोहिणी गाउँपालिका वडा नम्बर २ बस्ने मेराज अहदमको अहिले भिम अस्पतालमा स्वास्थ्य परिक्षण गरी उनलाई सोही क्वारेन्टाईनमा राखिने भएको छ। गाउँपालिका अध्यक्ष यादवले विदेशबाट आएका व्यक्ति तथा संक्रमितको आशंका गरिएका व्यक्तिलाई अनिवार्य रुपमा १४ दिन सम्म सेल्फ क्वारेन्टाईनमा बस्न अनुरोध गरिएको बताए।
सेल्फ क्वारेन्टाईनमा बस्न नमान्ने वा अन्य शंकास्पद व्यक्तिलाई सम्बन्धित वडा, संघ संस्था, सुरक्षा निकाय र स्वास्थ्यकर्मीको समन्वयमा गाउँपालिकाले क्वारेन्टाईनमा राख्ने छ। यसको लागि अत्यावश्यक औषधि लगायत, प्रतिकार्य सामाग्रीको व्यवस्थाको लागि गाउँपालिकाले प्रयास गरिरहेको छ।
कोरोना भाइरसको संक्रमित भए आफूलाई मात्र नभई आफ्नो परिवार हुँदै सम्बन्धित समाजलाई नै असर पार्ने हुँदा बाहिरबाट आएका व्यक्तिहरुलाई सेल्फ क्वारेन्टाईन वा गाउँपालिकाले स्थापना गर्ने क्वारेन्टाईनमा बस्न यादवले अनुरोध गरे।
यस्तै गाउँपालिकाले विदेशी मुलुक र भारतअन्य व्यक्तिहरुको व्यक्तिगत विवरण समेत संकलन गर्ने जनाएको छ। गाउँपालिकाका प्रमूख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले यस्ता व्यक्तिहरुको विवरण संकलनको लागि स्वास्थ्यकर्मीहरुलाई अनुरोध गरिएको जानकारी दिए।



लोकपाटी न्यूज

