सीमा नाकामा अलपत्र नेपालीलाई प्रवेशको अनुमति

meeting pic
लोकपाटी न्यूज

काठमाडौं, ११ चैत। सरकारले सीमा नाकामा अलपत्र नेपालीलाई प्रवेशको अनुमति दिएको छ।नेपाल–भारत सीमानाकाहरुमा अलपत्र परेका नेपालीहरुलाई १४ दिन ‘क्वारेन्टाइन’मा बस्ने शर्तसहित अन्तिमपटकका लागि नेपाल प्रवेश गर्न दिएको हो।

कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिको मंगलबार दिउँसो बसेको बैठकले अन्तिमपटकका लागि उनीहरुलाई आउन दिने निर्णय गरेको हो। भारतबाट आएका नेपालीहरु विभिन्न नाकामा ठूलो संख्यामा रोकिएर समस्या उत्पन्न भएकाले उनीहरुलाई शर्तसहित नेपाल प्रवेश गर्न दिइएको हो। यस्तै, धुलिखेल, वीर अस्पताल र बीपी कोइराला प्रतिष्ठानमा उपकरण जडान गर्ने निर्णय पनि समितिले गरेको छ।

यस्तै, कोरोना राहतका लागि जोसुकैले खडा गरेका कोषमा जम्मा हुने रकम एक साताभित्र केन्द्रीय कोषमा जम्मा गर्न भनिएको जानकारी सरकारका प्रवक्ता डा. युवराज खतिवडाले दिए। सरकारले कोरोनासँग सम्बन्धित कुनैपनि स्वास्थ्य सामग्री निजी क्षेत्रले आयात गर्न चाहेमा त्यसको अनुमति दिने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्