काठमाडौं, ९ चैत। सरकारले सोमबारदेखि भारत र चीन तर्फका सीमाहरु बन्द गर्ने निर्णय गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले चैत १० गतेदेखि सात दिनसम्म सीमामा मानिसहरुको आवागमनमा रोक लगाएको हो।
सीमा नाका बन्द गरिए पनि अत्यावश्यक सेवाको कारोबार पेट्रोलियम पदार्थ, ग्यास आयात तथा ढुवानी निरन्तर चालु रहने निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए।
उनले निगमका आ-आफ्ना क्षेत्रका कार्यालय प्रमूख तथा ढुवानी व्यवसायीहरुलाई स्थानीय प्रशासन तथा भंसारसँग समन्वय गरी पेट्रोलियम पदार्थको ढुवानी कार्य सूचारु राख्न समेत आग्रह गरे।
यसैबिच, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले खाद्यान्नलगायतका अत्यावाश्यक वस्तुको अभाव हुन नदिनेगरि बन्दो वस्त गरेको बताएका छन्। आइतबार एक साक्षात्कारमा बोल्दै उनले आपूर्ति व्यवस्थापनको लागि सरकारले पूरै योजनाबद्ध ढंगले काम गरिरहेको बताएका हुन्।
उनले भने,‘अहिलेको अवस्थामा तत्काल आपूर्ति व्यवस्थापन कसरी गर्ने भन्ने एउटा तयारी छ, अर्को अलिक गम्भिर अवस्था आयो भने कसरी गर्ने र महामारी नै आयो भने कसरी गर्ने भन्नेपनि तयारी छ ।’ मन्त्री भट्टले बजारमा खाद्यान्न लगायत अत्यावश्यक वस्तुको अभाव हुन्छ भन्ने मनोवृत्तिले उपभोक्ताले संचितीकरण गर्न थालेकोले केही समस्या उत्पन्न भएको पनि टिप्पणी गरे।
उनले भने, ‘कतिले चारदेखि ६ वटासम्म सिलिण्डर राख्ने गरेका छन्, कतिले त दुई चार बोरा चामल राख्ने गरेका छन्। यस्तो अवस्थामा कतिपय व्यापारीले पनि मौकाको फाईदा उठाउनलाई कालोबजारी गर्न सक्छन्। हामीले मन्त्रालयको टिमलाई पूरै परिचालन गरेका छौं । कोहीपनि कर्मचारी विदामा नबसी फिल्डमा खटिनुभएको छ ।’
खाद्यान्नलगायतका अत्यावश्यक सामाग्रीको कुनै अभाव नहोस र सहज तवरले आपूर्ति व्यवस्थापन गर्नको लागि आफ्नो नेतृत्वमा एक समिति समेत हिजो गठन भएको उनले जनाए। उनले भने,‘त्यो समितिमा तीनवटै सुरक्षा निकायका प्रतिनिधि हुनुहुन्छ, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, उद्योग वाणिज्य महासंघका प्रतिनिधि, चेम्बर अफ कमर्स, सिएआई, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि हुनुहुन्छ।
हामी विशेष तयारीका साथ काम गरिरहेका छौं।’ मन्त्री भट्टले भोलि त्यस्तो अवस्था आए संकटकाल नै घोषणा पनि हुनसक्नेपनि बताए । उनले भने, ‘सबै कुराको ख्याल गरेर हामीले तयारी गरिरहेका छौं।’



लोकपाटी न्यूज

