कृषिवस्तुको नयाँ मूल्य तोक्छौं, नबिके किसानबाट सरकारले किन्छ

GhanaShyam_Bhusal
लोकपाटी न्यूज

काठमाडौं। कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले किसानको खर्च कटाएर नाफा हुने गरी कृषिवस्तुको समर्थन मूल्य तोक्ने घोषणाा गरेका छन्। बुधबार आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले मुख्य बाली वस्तुको उत्पादन लागतको मूल्यांकन गरेर उचित वचतको ग्यारेन्टी हुने गरी न्युनतम समर्थन मूल्य तोक्ने बताएका हुन्।

सरकारले तोकेको मूल्यमा किसानले बजारमा कृषि वस्तु बेच्न सक्ने र यदि बिक्री नभएमा सरकारले किनिदिने मन्त्री भुसालले बताए। उनले नगदेबालीमा २५ प्रतिशत नाफा सुनिश्चित गर्ने पनि बताए। मन्त्री भुसालले यसअघिको अनुदानमा प्रणालीमा सुधार गरी सबै किसानले पाउने गरी मल, बीऊ, सिञ्चाई र विजुलीमा अनुदान दिने बताएका छन्।

त्यस्तै सबै किसानले प्राविधिक सेवा पाउने ग्यारेन्टी गर्ने र स्थानीय तहमा कृषि तथा पशु प्राविधिकको खाली दरबन्दीमा तत्काल पदपूर्ति गर्ने पनि घोषणा गरेका छन्। हाल स्थानीय तहमा करिब ६ हजार कृषि तथा पशु प्राविधिकको दरबन्दी खाली छ। मन्त्री भुसालले हरेक किसानलाई ५ प्रतिशत ब्याजदर नबढ्ने गरी कृषि ऋणको व्यवस्था गर्ने पनि घोषणा गरेका छन्।

उनले आफूले गरेको घोषणा आफ्नै लागि बन्धन भएको बताए। ‘यो सबै योजना मैले आफ्नै टाउकोमा आगो लगाएको हुँ, आफैले आफैंलाई बाँधेको हुँ’ उनले भने। मन्त्री भुसालले आफ्नो नीतिले दलाल पुँजीबाद हावी रहेको कृषि क्षेत्रमा धक्का दिने बताए। ‘दलाल पूँजीवाद कृषिमा छ्यापछ्याप्ती छ हाम्रो पाँच नीतिले यसलाई धक्का दिन्छ र मेरो प्रमुख ध्येय त्यही हो। धादिङमा कृषकले ५० रूपैयामा बेचेको काउली काठमाडौंमा १५० पर्ने संस्कार अन्य हुन्छ। उपभोक्ताले तिरेको मूल्य कृषककै हुनेछुु’ उनले भने।

वौद्धिक नेताका रुपमा परिचित नेकपा नेता घनश्याम भुसालले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेयता मौनता साँधेको आरोप लाग्दै आएको थियो। मन्त्री भुसालले यस अवधिमा आफूले देशको कृषिबारे अध्ययन गरिरहेको बताउँदै आएका थिए। उनले समय आएपछि बोल्छु भन्दै आएका थिए।

अन्ततः बुधबार कृषि मन्त्रालयमा पत्रकार सम्मलेन गरेर मन्त्री भुसालले ‘संरक्षित कृषि, सुनिश्चित बचत’ नारासहित ५ नीतिगत आधारहरु अगाडि सारेका छन्। उनले यसलाई ‘आफ्नै परीक्षा लिनका लागि अगाडि सारिएको’ बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्