काठमाडौं। पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष खगेश्वर बोहोराले भारतबाट अहिले ७ वटा नाकाबाट पेट्रोलियम पदार्थ आपूर्ति भइरहेको सुनाउँदै बजारमा कुनै अभाव नभएको स्पष्ट पारेका छन्। उनले भने, ‘कुनै दिन पनि आपूर्ति रोकिएको छैन।’
उनले आफूहरुसँग भएका ट्यांकरलाई समेत भण्डारणका लागि प्रयोग गर्नुपर्ने सुनाए। निगमको भण्डारण क्षमताले ७ दिनको लागि मात्रै पुग्ने बताउँदै भण्डारण क्षमता अझै बढाउनुपर्नेमा उनको जोड थियो। रिपोर्टर्स् क्लवको कार्यक्रममा बोल्दै उनले आपूर्ति सहज भएकाले भण्डारण नगर्न आग्रह गरेका हुन्।
बोहोराले अहिले पेट्रोलियम पदार्थको कुनै भयावह अवस्था नभएको समेत जिकिर गरे। तर, निगमले समयमै मूल्य समायोजन नगर्दा अहिले दुई चार दिन समस्या देखिएको उनले तर्क गरे। उनले भने, ‘निगमले मूल्य समायोजनमा ढिलाई गरेकै हो, कालोबजारी गर्ने ठाउँ छैन। मूल्य घट्छ कि भनेर केही व्यापारी साथीहरुले तेल नउठाएको हुन सक्छ।’
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले आफूहरुले अहिले विदाको दिनमा पनि बजार अनुगमन गरेको र लापरवाही गर्नेलाई अन द स्पट कारबाही गरिएको स्पष्ट पारेका छन्। उनले भने, ‘एकीकृत रुपमा हामीले अनुगमनलाई अघि बढाएका छौं।’ कालोबजारी गर्नेहरुलाई आफूहरुले ठाउँको ठाउँमा कारबाही गरेको उनले स्पष्ट पारे।
उनले आजबाट ग्याँस तथा पेट्रोलियम पदार्थमा समेत ध्यान दिइएको र सोहीअनुरुप आज अनुगमन गरिएको पनि सुनाए। उनले भने, ‘ग्याँसमा वितरण प्रणालीमा समस्या देखिएको छ। ग्राहकलाई होल्ड नगर्नका लागि म आग्रह गर्दछु।’ उनले आफूहरुले कुनै पनि खराबी मौलाउन नदिने पनि विश्वास दिलाए। उनले भने, ‘हामी फिल्डमै खटिएका छौं। गलत गर्नेलाई कारबाही भइरहेको छ।’
कार्यक्रममा नेपाल आयल निगमका उपमहानिर्देशक नागेन्द्र साहले निगमले पेट्रोलियम पदार्थमा मूल्य समायोजनबारे प्रकाश पारेका थिए।



लोकपाटी न्यूज

