पाइपलाइनबाट तेल आइरहेको छ, चिन्ता नगरौं : निर्देशक पौडेल

surendra kumar poudel
लोकपाटी न्यूज

काठमाडौं, ४ चैत्र। नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले पेट्रोलियम पदार्थको आयातमा कुनै बाधा तथा अवरोध (रेस्ट्रिक्शन) नभएको स्पष्ट पारेका छन्। उनले भने, ‘पाइपलाइनबाट पनि पेट्रोलियम पदार्थ आइरहेको छ। अहिले हामीले सप्लाइमा बढी ध्यान दिएका छौं।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै कार्यकारी निर्देशक पौडेलले आफूहरुले डिमाण्ड र सप्लाइको आवश्यकत्ता पूरा गरिरहेको सुनाए। उनले भने, ‘हामी अहिले यही कुरामा बढि फोकस छौं।’ उनले पेट्रोलियम पदार्थको पछिल्लो डाटा र स्टेस्टिक्स हेर्दा व्यापारीहरुले पनि किन्न कुनै कञ्जुस्याँई गरेको देखिएन। एकाध, दुईले मूल्यको समायोजनले गर्दा नकिनेका होलान्।’

उनले भैरहवाबाट पनि तेल ल्याउन आफूहरुले निर्देशन दिएको सुनाए। उनले अहिले सबै पेट्रोल पम्पमा तेल पुग्ने क्रममा रहेको पनि सुनाए। उनले भने, ‘आम उपभोक्ताहरुले भेहिकलमा राख्नुहोस्। तर, धेरै स्टोरेज नगरौं।’ उनले पेट्रोलियम पदार्थको माग पूर्तिमा कुनै समस्या नभएको स्पष्ट पारे। उनले अहिले बजारमा भएको आम मागको ५ देखि १० प्रतिशत थपेर नै आफूहरुले भारतबाट आपूर्ति गरिरहेको जनाए। उनले आयल निगमले ६७ हजार किलोलिटरको भण्डारण क्षमतामा ५३ हजार किलोलिटर भण्डारण गरिसकेको सुनाउँदै यो भनेको ८० प्रतिशत भण्डारण भएको स्पष्ट पारे।

त्यस्तै, उनले ग्याँसको सवालमा अहिले देखिएको समस्या आवश्यकभन्दा बढी सिलिण्डर स्टोरेज गर्नुनै प्रमुख कारण भएको स्पष्ट पारे। उनले भने, ‘यो महिना चाहिएको ग्याँस ३८ हजार मेट्रिक टन हो, हामीले भारतसँग ४५ हजार टनको अर्डर पठाएका छौं। अहिले बजारमा २८ लाख सिलिण्डर रहेका छन्। हामीले ३५ लाख मगाएका छौं । यो भनेको ७ लाख लाख बढी हो।’

उनले नेपाल ग्याँसको सिलिण्डर अत्यधिक बढी भएको सुनाउँदै अहिले एक्कासी यो कम्पनीको सिलिण्डिर बजारमा आएकोले समस्या देखिएको सुनाए। उनले भने, ‘नेपाल ग्याँस त आयल निगमभन्दा पनि जेठो हो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्