काठमाडौं, १६ फागुन। नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीलाई सरकारका पूर्वप्रवक्ता गोकुल बाँस्कोटाको प्रवक्ता नबन्न आग्रह गरेका छन्। अनुसन्धान प्रहरीले, बहस वकिलले र फैसला न्यायाधीशले गर्ने भएकाले यसको भारी नबोक्न शर्माले प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्।
शुक्रबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा उनले प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै ट्वीटरमा लेखेका छन्, ’ पुर्व प्रवक्ताको वर्तमान प्रवक्ता नबनिदिनोस् कृपया ! अनुसन्धान प्रहरीले, बहस वकिलले र फैसला न्यायाधीशले गर्ने हो। अरुको कर्म पनि यहाँले नै गरे प्रधानमन्त्रीको भारी बोक्न झनै गाह्रो पर्नेछ। अझ अडियोको प्राविधिक परीक्षणसम्म यहाँले नै ??
ओलीले पार्टीको बागमती प्रदेश कमिटीले बिहीबार आयोजना गरेको प्रशिक्षणमा बाँस्कोटाको बचाउ गर्दै अडियोमा कमिसन मागेको भन्ने कुरामा सत्यता नरहेको दाबी गरेपछि शर्माले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले के भनेका थिए ?
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटालाई सुनियोजित रुपमा फसाइएको बताएका छन्। बिहीबार नेकपाको बागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण तथा भेलामा ओलीले सार्वजनिक भएको अडियोमा बोल्ने व्यक्ति स्वीस एम्बेसीले हाम्रो मान्छे होइन भनिसकेको बताएका हुन्।
बाँस्कोटाले पनि त्यसमा आफ्नो संलग्नता छैन भनिसकेको र स्वीस एम्बेसीको कुरा जोड्दै ओलीले उनको बचाउ गरेका थिए। प्रधानमन्त्री ओलीले नाम जोडेर अडियो सार्वजनिक भए लगत्तै बाँस्कोटाले नैतिकताको आधारमा राजीनामा दिएर राम्रो काम गरेकोे बताए।
प्रधानमन्त्री ओलीले भने,‘मेरो नाममा पनि उजुरी परेको सुनेको छु,’ उनले प्रश्न गर्दे भने, ‘कत्रो उजुरी परेको छ ? त्यो उजुरीको कुनै काम छैन।’



लोकपाटी न्यूज

